06/07/2025, 21:54:54

प्रधानमन्त्री ओली पत्नीद्वारा कलाकार शर्माको चित्रकला प्रदर्शनी अवलोकन


काठमाडौँ, २४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्यले आज नेपाल कला परिषद् बबरमहलमा जारी अग्रज कलाकार हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

चित्रकार शर्माका ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको विशेष प्रदर्शनीमा पुगेर उहाँले कला अवलोकन गर्नुभएको हो । अठासी वर्षीय शर्माको यो पाँचौँ एकल कला प्रदर्शनी हो ।

अवलोकनका क्रममा शाक्यले इतिहासका विषयलाई राम्ररी संरक्षण गरेर कलामा उतारिएको सृजना हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । यसरी इतिहास, संस्कृति र जनजीवनलाई सुन्दर ढङ्गले संरक्षण गरेकामा उहाँले चित्रकार शर्मालाई धन्यवाद पनि दिनुभयो ।

बिहीबार शर्माको चित्रकला प्रदर्शनी अवलोकन गर्दै सभामुख देवराज घिमिरेले यहाँ नेपालको इतिहास, संस्कृति र जनजीवनका अद्वितीय चित्र हेर्ने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको इतिहास, संस्कृति र जनजीवन क्यानभासमा चिरस्थायी दस्तावेजका रूपमा बसेको उल्लेख गर्नुभयो ।

यसअघि यही जेठ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त कला प्रदर्शनी अवालोकन गर्नुभएको थियो । सो क्रममा उहाँले हाम्रो कला, संस्कृति कस्तो छ ?, कसरी विकास हुँदै आएको छ ? यो कुरा कलाकार शर्माले मेहनतका साथ प्रस्तुत गर्नुभएको बताउनुभएको थियो ।

प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्रकला प्रदर्शित छन् । चित्रहरूमा उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न सकिन्छ । विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेको बताउनुभयो ।

सत्तरी वर्षअघि देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई उहाँले आफ्नो कलामा जीवन्त रूपमा उतार्नुभएको छ । यसअघि शिक्षामन्त्री रघुजी पन्त, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलगायतले उक्त कला अवलोकन गरिसक्नुभएको छ । नेपाल सम्पदा सङ्घको आयोजनमा भइरहेको प्रदर्शनी भोलिसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ