कास्की, २४ जेठः पोखरा रङ्गशालामा आजदेखि पहिलोपटक ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिप सुरु भएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो ।
पोखरामा यसअघि ‘आउटडोर’ च्याम्पियनसिप भए पनि रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा ‘इन्डोर’ पहिलोपटक गरिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित कोशी, बागमती र गण्डकी प्रदेशका खेलाडी सहभागी छन् ।
प्रतियोगितामा महिला २२ र पुरुष ४८ गरी कुल ७० जना खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा ‘रिकर्व’ महिला÷पुरुष, ‘रिकर्व टिम इभेन्ट’, ‘रिकर्व मिक्स इभेन्ट’, ‘कम्पाउण्ड’, महिला र पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड’ महिला÷पुरुष ‘इन्डिभिजुअल’, ‘स्टाण्डर्ड मेन्स टिम इभेन्ट’ र ‘मिक्स इभेन्ट’ गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने शेरचनले बताउनुभयो ।
कार्यक्रममा सदस्यसचिव घिसिङले निर्धारित मितिमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्दा आर्चरीसहित अन्य खेलकुद प्रभावित बनेका बताउनुभयो । उहाँले प्राविधिक समस्याका कारणले तोकिएको मितिमा प्रतियोगिता नभएको उल्लेख गर्नुभयो ।
“राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुँदा तयारी गरिरहेका खेलाडीलाई समस्या परेको छ । हामी तयारीलाई पूर्णता दिएर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्नेछौँ”, सदस्यसचिव घिसिङले भन्नुभयो । उहाँले इन्डोर प्रतियोगिताले खेलाडीभित्र रहेको क्षमता प्रदर्शनका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । घिसिङले १९औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीको सहभागिताले नेपालको आर्चरी खेलले प्रशंसा पाएको बताउनुभयो ।
गण्डकी प्रदेशसभाका सांसद विकल शेरचनले ‘इन्डोर’ आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा सहयोेगी पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकी तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको छ ।