काठमाडौँ, २२ जेठ ः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको बैठक आकस्मिक समयमा सांसद नरबहादुर विष्टले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’का नाममा नागरिकमाथि गरिएको ठगीको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
यसैगरी बैठकको शून्य समयमा सांसद मनरुपा शर्माले ‘भिजिट भिसा’ प्रकरणलाई निष्पक्ष छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । सांसद घनश्याम रिजालले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको सुनको गहनामा लाग्ने विलासिता कर फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
सांसद रुक्मिणी कोइरालाले झापाका विभिन्न पालिकामा जङ्गली हात्ती आतङ्क बढेको जनाउँदै हात्ती नियन्त्रणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले प्लाष्टिकको जथाभावी प्रयोगले वातावरण प्रदूषण बढ्दै गएको उल्लेख गर्दै प्लाष्टिक प्रदूषण रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश सरकारले निर्माण गरेको ऐन, कानुन कार्यान्वयन नगर्न सङ्घीय सरकारले पत्राचार गर्नुले सङ्घीयतामाथि बेवास्ता गरेको बताउनुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाँकेको जमुनाहा नाकामा रहेको ‘एक्स्रे’ मेसिन बिग्रेको हुँदा अवैध हातहतियार र लागुऔषध ओसारपसार बढ्न सक्ने औँल्याउँदै भन्सार र सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सावित्री मल्लले आगामी आवको बजेट वक्तव्यमा राष्ट्र सेवक कर्मचारीलाई बेवास्ता गरिएको जनाउँदै अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभयो ।