06/04/2025, 07:29:28

गुगलले ल्यायो अफलाइनमा पनि चल्ने एआई एप, एआई एज ग्यालरी


जेष्ठ १९, काठमाडौँ — गुगलले तामझाम बिनै ‘एआई एज ग्यालरी’ नामक नयाँ मोबाइल एप ल्याएको छ । यो एप चलाउन इन्टरनेट आवश्यक पर्दैन । हाल एन्ड्रोइडमा मात्र उपलब्ध यो एपबाट तस्बिर जेनेरेट गर्न, कम्प्युटर कोड लेख्न र च्याटजीपीटीमा जस्तै उत्तरहरू खोज्न सकिन्छ । अफलाइन भएकाले सुरक्षा, गोपनियता र फास्ट पर्फमेन्सलाई यसको प्रमुख विशेषता मानिएको छ ।

हाल यो एप अल्फा संस्करण अर्थात प्रारम्भिक चरणकै अवस्थामा छ । यसमा गुगलको शक्तिशाली ल्याङ्ग्वेज मोडेल ‘गेम्मा थ्री एन’ समावेश गरिएको छ । जम्मा ५२९ एमबी साइजको यो मोडलले एक सेकेन्डमा २ हजार ५ सय ८५ टोकन प्रोसेस गर्न सक्ने दाबी गरिएको छ ।

यो प्रयोगकर्ताको हातमै एआई पुर्‍याउने कुरा हो,’ गुगलका प्रतिनिधिले भनेका छन्, ‘डेटा वा वाइफाई नचाहिने र क्लाउड प्रोसेसिङ नहुने भएकाले वा डिभाइसमै प्रोसेसिङ हुँदा प्रयोगकर्ताको गोपनीयता सुरक्षित हुन्छ । यसले प्रोसेसिङ स्पिड पनि घटाउँछ भने कनेक्टिभिटी नभएका ठाउँमा पनि एआईको पहुँच प्राप्त हुनेछ ।

एआई एज ग्यालरी एपमा ‘एआई च्याट’, ‘आस्क इमेज’ र ‘प्रम्ट ल्याब’ जस्ता फिचरहरू छन् । यसबाट प्रयोगकर्ताले आफैँ टेक्स्टलाई छोट्याउन र पुनर्लेखन गर्न सक्छन् । एप ओपन-सोर्स मोडलमा सार्वजनिक गरिएको छ र व्यावसायिक प्रयोगका लागि निःशुल्क छ ।

गुगलको यस एपले एआई प्रविधि अफलाइनमा पनि सम्भव भएको पुष्टि गर्नुका साथै ‘अफलाइन एआई’लाई व्यावहारिक बनाउन गुगल अग्रणी बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ