२३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट संगिना वैद्यले राजीनामा दिएकी छिन्। उनले आफ्नो योग्दताको कदर नभएको तथा अपमानित भएको महसुस गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा दिएकी हुन्।
यसअघि गत मंगलबार विभागका निर्देशक प्रचण्ड शर्माले उमेर हदका कारण अनिवार्य अवकास पाएका थिए। निर्देशकको पद खाली भएपछि स्वभाविक रूपमा ओलम्पियन समेत रहेकी वैद्यको दाबी थियो। तर खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई निर्देशक बनाइएको थियो।
आफूभन्दा जुनियर व्यक्ति निर्देशक भएपछि आफूले उपनिर्देशकबाट राजीनामा दिएको वैद्यले बताइन्। उनका अनुसार हाल निर्देशक नियुक्त भएका प्रसाईं भन्दा वैद्य एक वर्षले सिनियर प्रशिक्षक हुन्।
वैद्यले आइतबार सदस्य सचिव घिसिङलाई हालको अवस्थामा पदमा बस्ने वातावरण नभएकाले पदबाट राजीनामा दिएको उनले बुझाएको राजीनामा पत्रमा उल्लेख छ। साथै उनले आफूभन्दा जुनियरलाई निर्देशक बनाएपछि अपमानित महसुस भएको समेत बताइन्।
वैद्य नेपालबाट ओलम्पिक छनोट जितेर सहभागी हुने पहिलो खेलाडी हुन्। साथै एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर कीर्तिमान बनाएकी वैद्यले साग गेम्समा २ स्वर्ण पनि जितेकी छिन्। उनी २०५२ सालमा परिषदका प्रशिक्षकको रुपमा कर्मचारी नियुक्त भएकी थिइन् भने २०६३ सालमा बढुवा भएकी थिइन्।