06/03/2025, 11:32:07

सबै किसिमका परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा प्रयासरत छौँः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ, १८ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित बृहत् स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य गर्न लागिपरेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “केही समयअघि केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता थियो । हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको छ । बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ ।

स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उहाँले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताउनुभयो । उहाँले अपाङ्गता भएका पत्रकारको मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश्वर गौतमले सधैँ जोखिम मोलेर काम गरिराख्ने पत्रकारलाई स्वास्थ्यप्रति सचेत गराउन शिविर आयोजना गरिएको बताउनुभयो ।

नेपाल प्रेस युनियन, काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगङ्गा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्तपालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ