06/01/2025, 03:56:33

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन


खोटाङ, १६ जेठः खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाखमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५० लाख, आव २०७७/७८ मा रु एक करोड, आव २०७८/७९ मा रु एक करोड र आव २०८०/८१ मा रु एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवन विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गर्नुभएको हो ।

आव २०७६/७७ देखि क्रमागत योजनाको रूपमा शौचालयसहित विद्यालयको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुईतलमा सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले जानकारी दिनुभयो ।

विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ । आधारभूत तहस्तरीय हाजिरीजवाफमा सिद्ध आधारभूत आवि प्रथम, भगवती दिनानाथ मावि दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु नौ हजार, रु सात हजार २०० र रु छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु तीन हजार, रु एक हजार ८०० र रु एक हजार २०० प्रदान गरिएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको गत आवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आवको हालसम्म रु चार करोड पाँच लाख १० हजार आय र रु तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रधानाध्यपक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार आय व्याय अनुसार विद्यालयसँग रु १५ लाख ११ हजार मौज्दात रकम छ ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा सञ्चालित भगवती दिनानाथ माविमा प्राविधिक शिक्षासमेत अध्ययन/अध्यापन हुँदै आएको छ । कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । विसं २००६ जेठ १५ गते स्थापना गरिएको यस विद्यालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ