कञ्चनपुर, १५ जेठः यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ सङ्क्रामक रोग देखिन छाडेको छ ।
दुध उत्पादन पनि वृद्धि भएको छ । “पम्परागत गोठमा पशु चौपायाको मलमुत्र व्यवस्थापन नहँुदा दुर्गन्धित हुन्थ्यो”, विष्टले भन्नुभयो, “गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।”
गोठमा मल एकातर्फ र मुत्र ट्याङ्कीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम ९ताल० र सामुदायिक वन समन्वय समिति ९सिएफसिसी० कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।
“गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “गोठमा लामखुट्टे, झिङ्गा, मुसा र परजीविको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।”
उहाँका अनुसार सुधारिएको गोठबाट सङ्कलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरु रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
“गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन”, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भन्नुभयो, “पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।”