05/28/2025, 12:55:54

गन्तव्य देशले नेपाली श्रमिकलाई दासको व्यवहार गर्न पाइँदैन : श्रममन्त्री भण्डारी


१३ जेठ, काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकलाई श्रममा लगाइरहेको गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताएका छन् । उनले गन्तव्य देशबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई सधैं सम्मानपूर्ण व्यवहारको अपेक्षा नेपालले राख्ने गरेको बताए ।

आफ्नो देशमा श्रमशक्ति नभएपछि नेपालबाट श्रमिक लिएर जाने गरेको हो । नेपालबाट गएका श्रमिकले गन्तव्य देशको विकासमा ठूलो योगदान गरिरहेको छ । यसलाई गन्तव्य देशले पनि भन्दै आइरहेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्विस सरकार र आईएलओको अन्तर्राष्ट्र्रिय तालिम केन्द्र (आईटिसी)द्वारा काठमाडौंमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयन सम्बन्धी आवासीय तालिमको उद्घाटन गर्दै श्रममन्त्री भणडरीले भने, ‘त्यो देशको विकासलाई योगदान गर्ने नेपाली श्रमिकलाई दास सरहको व्यवहार गर्न पाइँदैन । नेपाली श्रमिकले स्थानीय नागरीक सरह नै आधारभूत अधिकार पाउने हैसियत राख्दछ । सम्मानजनक व्यवहार खोज्दछ ।

श्रममन्त्री भण्डारीले नेपालले गन्तव्य देशसँग नेपालीको न्यूनतम तलब, स्वास्थ्य सुरक्षा, बिमा, सामाजिक सुरक्षा, मर्यादित कार्यस्थल र न्यायोचित भर्ना प्रक्रियाको विषयलाई सम्बोधन हुने गरी श्रम सम्झौता वा समझदारी गरिरहेको बताए । ‘हामी सुरक्षित आप्रवासनको लागि काम गरिरहेका छौं । घरबाट निस्केर गन्तव्य मुलुकसम्म पुगेर फर्केर नआएसम्मका सबै चरणमा श्रमिकको सुरक्षाको सुनिश्चित गर्ने विषयमा श्रम सम्झौता गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा श्रम सचिव कृण्णहरि पुष्कर कर्णले गन्तव्य देशसँगको श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय आधारभूत मानवअधिकारको विषयमा भने सौदाबाजी नहुने बताए । ‘श्रमिकको सुरक्षा र हक दिलाउने विषयमा विश्वव्यापी मानवअधिकारका आधारभूत मान्यताका विषयमा सौदाबाजी हुँदैन,’ उनले भने,‘ सामाजिक सुरक्षा लगायतका विषयमा भने थप छलफल गर्न सकिन्छ ।

श्रम सचिव कर्णले भियाना महासन्धी, आईएलओको मागर्दशन र श्रमका महासन्धीलाई आधार बनाएर नेपालले श्रम सम्झौताको मस्यौदा बनाइ गन्तव्य देशलाई पठाएको बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ