१९ भदौ, काठमाडौँ । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो।
गत शुक्रबार ऐतिहासिक पदक जितेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि उनलाई नगर परिक्रमा गरिइएको थियो। नगर परिक्रमा विमानस्थलबाट सुरु भएर गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुरेर बधाइ कार्यक्रम आयोजना गर्यो।
गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्। पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के-४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्। रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्।
लगातार दोश्रो पारालिम्पिक खेलेकी पलेशाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउदै कास्य पदक भिडन्त पक्का गरेकी थिइन्। तर कास्य पदकका लागि भएको भिडन्तमा भने पलेशा चीनकी लि युजीसंग १२–९ ले चुकेकी थिइन्।
पलेशाले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो। कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन्। नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो। गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कास्य जितेको इतिहास छ। सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धि हासिल गरेका थिए। प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन।
नेपालकको पारा तेक्वान्दोकी स्टार खेलाडी बागबजारकी हुन्। उनको जन्मिँदै बायाँ हातको कुहिनामुनिको भाग थिएन। जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन्। सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। त्यो प्रतियोगितामा उनी पाँचौं स्थानमा रहिन् ।
पिता प्रदीप र आमा मनीताका ३ छोरी मध्ये माइली सन्तान २१ वर्षीया पलेशाले पेरिस पारालिम्पिकसहित करियरमा ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । त्यसमा ३ स्वर्ण र उत्तिनै कास्य रहेको छ। पलेशाले नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स– २०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट– २०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन्। ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन्। टोकियो पारालिम्पिकमा भने पलेशा वाइल्ड कार्ड मार्फत सहभागी भएकी थिइन्।
त्यस्तै पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद– २०२२ मा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो । पलेशासंग लन्डन र टर्कीमा भएको २ विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।
काठमाडौं महानगरपालिका वडा २८, बागबजारकी पलेशा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन् । पेरिस पारालिम्पिकका लागि नेपाली तेक्वान्दो टोलीले १ महिना युकेको म्यान्चेसटरमा तयारी प्रशिक्षण गरेको थियो। पारालिम्पिकमा सहभागी टोली म्यान्चेसटरबाटै अगष्ट २५ तारिखमा पेरिस पुगेको थियो । पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रुपमा यो ११ औं अन्तर्राष्ट्रिय पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेका छन् । लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक हुन् ।
ऐतिहासिक कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन्। राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन्। सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कास्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन्। त्यस्तै प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।