१७ भदौ, काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एन्ड वधू’ले सुरुवातको व्यवसाय राम्रो गर्न सफल भएको निर्माण पक्षले दाबी गरेको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाएको निर्देशक मिलन चाम्सले बताए ।
शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत काठमाडौँका विभिन्न हलमा दर्शकको प्रतिक्रिया लिन पुगेका थिए । हलमा दर्शकले देखाएको मायाले आफू उत्साहित भएको अभिनेत्री आँचल शर्माले बताइन् । उनले भनिन्, ‘फिल्म हेर्न आउनु भएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठुलो कुरा हो ।’
नायक विवेक कर्माचार्यले पहिलो फिल्ममै दर्शकबाट पाएको साथ, हौसला र मायाले आफू निकै खुसी भएको बताए । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने विवेकको भनाइ छ ।
फिल्ममा किरण केसी, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, रवीन्द्र खड्का, विजय लामा लगायतका कलाकारको पनि अभिनय छ । एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रूपमा छन् । प्रदीप भारद्वाजले लेखेको फिल्मलाई सुदिप बरालले खिचेका हुन् ।