10/03/2025, 14:08:56
शुक्रबार, असोज १७, २०८२

बुद्धिसागरको कथामा चलचित्र ‘के घर के डेरा घर नं २’ निर्माण


काठमाडौँ, २७ वैशाखः ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा चलचित्र निर्माण गरिएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले उहाँको कथामा ‘के घर के डेरा घ नं २’ चलचित्र निर्माण गर्नुभएको हो ।

निर्देशक खनालले केही वर्ष अगाडिदेखि बुद्धिसागरलाई चलचित्रमा कथाकारका रूपमा ल्याउन प्रयास गर्नुभएको थियो । सो प्रयासलाई सार्थकता दिँदै उहाँको कथामा चलचित्र निर्माण गरिएको निर्देशक खनाल बताउनुहुन्छ । “साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् त”, भन्ने प्रश्नमा खनाल भन्नुहुन्छ, “कथाको मर्म बुझ्ने निर्देशक नपरेमा साहित्यकारको कथाले न्याय पाउँदैन । बुद्धिसगरजीले लेख्नुभएको पटकथामा हरेक जानकारीलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको छ । तर, हामी निर्देशकले एउटा सीमित समय भित्र कथा भनिसक्नुपर्ने हुन्छ । त्यसकारण कथाको मर्म प्रस्तुत हुनेगरी दृश्यमा उतार्ने खुबी निर्देशकमा हुनु जरूरी छ ।

उहाँले बुद्धिसागरको पटकथालाई चलचित्रको शैलीमा रूपान्तरण गरेर चलचित्र कस्तो बन्छ भन्ने बारेमा जानकारी दिएर काम सुरू गरेको बताउनुभयो । साहित्यकारले लेख्दा सामान्य कथा जस्तो सुन्दर हुन्छ, चलचित्रमा त्यस्तै सुन्दर तवरले प्रस्तुति गरिएको निर्देशक खनालको दाबी छ ।

निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गर्नुभएको थियो । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उहाँले बताउनुभयो । किनकि ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।

मैले मनछुने चलचित्र तयार गरेजस्तो लागेको छ । किनकी यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ”, निर्देशक खनालले भन्नुभयो ।

अभिनेता खगेन्द्र लामिछानेले निर्देशक खनालले झैँ पटकथाको सुन्दरता पात्रहरूको उदयसँगै अवतरण रहेको बताउनुभयो । आफैँ लेखक भएकाले अभिनेता लामिछाने लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार हुनुहुन्छ ।

पात्रलाई चलचित्रमा जसरी सुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैँ लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्”, उहाँले भन्नुभयो ।

‘पशुपति प्रसाद’ जस्तो चलचित्रमा लेखकसँगै अभिनेतासमेत रहनुभएका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालका मौलिक विषय गाउँ मात्र नभई सहरकै पनि ‘अर्गानिक’ हुने उहाँको बुझाइ छ ।

हामीले गाउँका कथालाई मात्र मौलिक वा ‘अर्गानिक’ भनेर सहरका कथालाई नजरअन्दाज गरिरहेका छौँ । हामीले यो सोच बदल्नुपर्छ । किनकी गाउँभन्दा सहरका गरिब दयनीय हुन्छन् । उनीहरूले गाउँ जस्तो सहजै जीविकोपार्जन गर्न सक्दैनन् । त्यसकारण हामीले ‘अर्गानिक’को परिभाषालाई बृहत् बनाउनुपर्छ”, अभिनेता लामिछानेले भन्नुभयो ।

यस चलचित्रमा अभिनेत्री केकी अधिकारीले डेरावालको भूमिकामा हुनुहुन्छ । अभिनेत्री अधिकारीले चलचित्रमा अन्य पक्षको कथा पनि देख्न पाइने बताउनुभयो । “डेरावाल वा घरबेटीको मात्र कथा होइन । चलचित्रमा रहेका पात्रहरू कसैको आफ्नै घर छ त, कसैको डेरा छ, कोहीसँग दुवै छैन । त्यसकारण यो कथालाई घरबेटी र डेरावालमार्फत प्रस्तुत गरिए तापनि यो समग्रमा सफलताका लागि मेहनत गरिरहेका सम्पूर्णको कथा हो”, उहाँले भन्नुभयो ।

चलचित्रमा आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरे लगायत कलाकारले पनि अभिनय गर्नुभएको छ । यो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।