05/02/2025, 19:29:22

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौँ, १९ वैशाखः संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा मौसूफबाट विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण हुनाका साथै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको थियो ।

बेलायती नरेशले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गर्नुभएको लण्डनस्थित नेपालको राजदूतावासले जनाएको छ ।  दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गर्नुभएको थियो ।

साथै राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मौसूफको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो । त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ