04/19/2025, 13:29:47

भक्तपुरका विभिन्न देवीदेवताका शक्तिपीठमा सगुन पूजा गर्दै मनाइयो द्यो स्वगं बिएगु जात्रा


भक्तपुर, ५ वैशाख : भक्तपुरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको द्यो स्वगं बिएगु पूजा अर्थात् सगुन पूजा गरी आज टोलटोलका देवीदेवताको परिक्रमा गर्दै भोजन चढाएर सुगन जात्रा सम्पन्न गरेको छ । भक्तपुरका नेवार समुदायले बिस्काः जात्राकै अवसरमा आज यहाँका विभिन्न ४२ वटा देवीदेवताका मन्दिर पुगेर द्यो स्वगं बिएगु पूजा अर्थात् सगुन पूजा गरी भोजन चढाएर जात्रा सम्पन्न गरेका हुन् ।

बिस्का जात्राका क्रममा विध्नबाधा परेको भए वा केही भुलचुक भए माफ पाऊँ भन्दै शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरेको संस्कृतिविद् धर्मरत्न शाक्य बताउनुहुन्छ ।

बिस्काः जात्राको आठौँ दिन आज दिनभर भक्तपुर नगरक्षेत्रका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजनसहित स्थानीयवासी टोलटोलबाट निस्किएर लामबद्ध भएर देवीदेवताको शक्तिपीठमा परिक्रमा गरी सगुन पूजा गर्दै भोजन चढाएका हुन् ।

स्थानीय महिलाले नेवारी पोशाक हाकु पटासी र पुरूषले परम्परागत दौरा सुरुवालमा सजिएर लामबद्ध भएर जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई आज सगुन पूजा गर्न हिजो नै यहाँका बासिन्दाले टोलटोलमा आ–आफ्ना द्यो छें (देवघर)बाट देवतालाई निकालेर पाटी, चोक तथा डबलीमा राखिएको थियो ।

स्थानीयले सबै देवीदेवतालाई आ–आफ्ना गच्छेअनुसारका परिकार चढाएर भोज लगाएका थिए भने व्यासीसहित यहाँका दुईवटा टोलका स्थानीयले धिमे बाजा र बाँसुरी बाजासहित नगरपरिक्रमा गरी ४२ स्थानका देवीदेवतालाई वो छायगु अर्थात् भोजन चढाएका थिए । अन्नका विभिन्न परिकारको भोज लगाएर देवीदेवतालाई समर्पण गर्दै चोकचोकमा भोजसमेत चढाएर जात्रा मनाएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ