04/13/2025, 02:31:12

नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल


काठमाडौँ, २९ चैतः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताउनुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उहाँले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको गरेको र नेपालले यसबाट लाभ लिन चाहेको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएको उल्लेख गर्दै अब विकासमा प्रगति गर्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

केही समयअघि मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित गरेको उहाँको भनाइ छ । “विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गबाट टुङ्ग्याउन सफल भएकामा प्रशंसा भइरहेको छ, अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्नेबाहेक अरू विकल्प छैन । यसमा चीन सरकारबाट विगतमा झैँ अझै सहयोग र समर्थन हुनेछ भन्ने मैले विश्वास लिएको छु”, अध्यक्ष दाहालले भन्नुभयो ।

राजनीतिक र औपचारिक रूपमा दुई देशबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपालले एक चीनप्रतिको प्रतिबद्धतालाई व्यवहारतः लागू गर्दै आएको र अहिले पनि एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेको भन्दै अध्यक्ष दाहालले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ