04/18/2025, 03:04:38

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन


लुम्बिनी, २७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गर्नुभएको छ ।

दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन’ आयोजना गरिएको हो । पाणिनि गाउँपालिका–१ र २ को सिमानामा रहेको तपोभूमिमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेताद्वय चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ