04/04/2025, 23:09:52

राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन तयार छु : कुलमान घिसिङ [पूर्णपाठ]


२२ चैत, काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले केही स्वार्थी समूहले आफ्नो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी चौतर्फी प्रहार गरिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका काम इमान्दारीपूर्वक सम्पन्न गरेको बताएका हुन् ।

त्यस्तै राष्ट्र निर्माणमा जहाँ आवश्यक हुन्छ त्यहीँ योगदान दिन आफू तयार रहेको पनि कुलमानले बताएका छन् । उनले भने, ‘मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैं जनताको सेवाप्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।

आफूलाई कमजोर बनाउन खोज्ने समूहबाट आफू सजग र सतर्क रहेको पनि उनले बताएका छन् । ‘मलाई कमजोर बनाउन आगामी दिनमा समेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु,’ उनले भने ।

यस्तो छ कुलमानको भनाइ

नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयबाट नियुक्त भएपछि कार्यकारी निर्देशकको रूपमा मैले दोस्रोपटक नेपाल विद्युत् प्राधिकरण, यसका उपभोक्ता र समग्र देशको सेवा गर्ने अवसर पाएको थिएँ । नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठाकासाथ दिनरात देश र जनताको सेवामा आफूलाई समर्पित गर्न पाएकोमा मलाई गौरव महसुस हुन्छ ।

मलाई हटाउन २०८१ चैत ११ गते मन्त्रिपरिषद् बैठकको तयारी भइहरेको दिन पनि म मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत, विपन्न चेपाङ समुदायको बस्तीमा बत्ती बाल्ने काममा खटिएको थिएँ । नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवम् अपमानित बनाउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान् ।

तर त्यसबाट म उत्तेजित वा हतोत्साहित भएको छैन । किनकि एक इमानदार राष्ट्रसेवकका रुपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन ।

डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल प्राधिकरणले लहडमा उठाउन खोजेको होइन, यसलाई सम्मानित अदालतबाट पनि स्वीकृति मिलेको हो । तर महसुल उठाउने काममा सक्रिय मलाई ६ पटकसम्म अर्थहीन विषयमा विवरण तथा स्पष्टीकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरी विवरण पेश गर्न लगाई मुख्य कामबाट अलमलाउने प्रयास भइरहेको थियो । प्राधिकरणले पटक-पटक गरी ४ पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्पहरू समेत अवलम्बन गरी बक्यौता असुलीको प्रयास गरिएकोमा पटक पटक माथिल्लो निकायहरूबाटै अवरोध सिर्जना भएको कुरा सबैको जानकारीमा छ ।

लाइन विच्छेद गरी बक्यौता असुली गर्ने सहमतिका लागि मैले विद्युत् नियमन आयोगलार्ई ११ चैत २०८१ मा पत्राचार गरेको थिएँ । त्यसलगत्तै मलाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो । बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नु पर्ने मुख्य कारण बन्यो । सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।

ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बंगलादेशसम्म विद्युत् व्यापार विस्तार गर्नेलगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री आएपछि ममाथि अनावश्यक र गैरकानुनी दबाब सिर्जना भएको विषयमा सिंगो देश साक्षी छ । सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास, उन्नतिका कामकारबाही प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोबध गर्न, मनोबल गिराउन ममाथि सुनियोजित आक्रमणमा उत्रनुभयो । यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रष्ट छ ।

मुख्य रूपमा विगतमा आम उपभोक्तालाई १८ घण्टासम्मको लोडसेडिङको अँध्यारोमा राखी उद्योग र उत्पादनका लागि भनेर अनुचित रूपमा डेडिकेटेड र ट्रङ्क लाइनबाट निरन्तर विद्युत् आपूर्ति लिएका सीमित उद्योगबाट प्रिमियम विद्युत् महसुल बक्यौता उठाउन नदिन प्राधिकरणमाथि निरन्तर हस्तक्षेप भइरहेको थियो । मैले व्यक्ति विशेषको निर्देशन मान्ने कि नियम कानुनको पालना गर्ने ? प्राधिकरणजस्तो सार्वजनिक निकायको कार्यकारी निर्देशकको रूपमा मैले सार्वजनिक कोषको उक्त बक्यौता रकम असुल गर्ने बाटो लिएँ । त्यसैले मन्त्री र मन्त्रिपरिषद्स्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने, थकाउने, गलाउने प्रयास भइरहेका थिए । तर, बक्यौता रकम नउठाउने गरी आएका आग्रह, प्रभाव, दबाबलाई मेरो जिम्मेवारी, निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन । संस्था र राष्ट्रप्रतिको घात गर्न मेरो इमान र स्वाभिमानले अनुमति दिएन । त्यसैले म कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरी मानेर म आफ्नो भूमिकामा डट्दै आएको हुँ ।

महसुलमा चित्त नबुझे प्राधिकरणको पुनरावलोकन समिति, विद्युत् नियमन आयोग जान सक्ने अधिकारलाई सदुयोग गर्नुको सट्टा शक्तिकेन्द्रमा धाइरहेका व्यक्तिले अहिले केही समय न्यानो महसुस गरेका होलान् । तर, सार्वजनिक कोषप्रति उनीहरूको दायित्वबाट कसैले पनि उन्मुक्ति पाउने छैन, तिनलाई संरक्षण गर्ने शक्ति र समूहले पनि राष्ट्रको सामुन्ने यसको हिसाब किताब बुझाउनुपर्नेछ भन्नेमा म विश्वस्त छु । देशको जिम्मेवार नागरिकका रूपमा पनि मैले त्यसको खबरदारी गरिरहने छु । आम नेपाली नागरिकले पनि यसको लागि खवरदारी गरिरहन मेरो आग्रह छ ।

जलस्रोतको धनी देशमा करिब आठ वर्षअघिसम्म हिउँदमा १५/१६ घण्टा र बर्खामा पनि ९ घण्टा लोडसेडिङ हुनु आम विषयजस्तै थियो । लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो । लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, एउटा इमानदार प्रयास थियो भनेर मैले धेरैपटक भनेको छु ।

प्राधिकरणका लागि लोडसेडिङ अन्त्य अन्तिम अभिष्ट पक्कै थिएन किनकि विद्युत् पुगेका ठाउँमा मात्र लोडसेडिङको प्रश्न थियो, तर करिब ४२ प्रतिशत परिवारमा त विद्युत् सेवा नै पुगेको थिएन । यी बस्ती र बासिन्दाले बिजुलीको उज्यालोको व्यग्र प्रतीक्षा गरिरहेका थिए । तर, यो बीचमा ९९ प्रतिशत भन्दा बढी परिवारमा विद्युतको उज्यालो पुर्‍याउन प्राधिकरण सफल भएको छ । विगतमा विद्युत् सेवा माग गर्दै उपभोक्ताहरू प्राधिकरण धाउने अवस्था थियो । अहिले, अवस्था फेरिएको छ । प्राधिकरण आफैं विद्युत् नपुगेका घर खोज्दै विकट बस्तीबस्ती पुगिरहेको छ ।

लोडसेडिङ हटाउँदा घर–घरमा उज्यालो मात्र छाएन, करिब ३० लाख विद्यार्थीहरूको भविष्य सुनिश्चित भयो, उनीहरूले निर्बाध पढ्न पाए । अस्पतालका सुत्केरी वार्ड र अपरेशन थिएटरमा बत्ती ननिभ्दा सयौं नेपालीको जीवन सुरक्षामा हामी सहयोगी बन्न सक्यौं । यो मेरो जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो । यसले हजारौं नेपालीलाई रोजगारीका नयाँ अवसर सिर्जना गर्न आशा जगायो ।

वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको बेला, हामीले विद्युत् निर्यात, ऊर्जा दक्षता र स्वदेशी उत्पादन वृद्धिमार्फत पेट्रोलियम पदार्थको आयात घटाउन सफल भयौं, जसले देशको बहुमूल्य मुद्रा विदेशिनबाट जोगायो र अर्थतन्त्रलाई टेवा पुर्‍यायो ।

मेरो नेतृत्वमा प्राधिकरणले गौरवपूर्ण यात्रा तय गर्‍यो । निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब ३ गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो । यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ ।

नेपाल सरकारले बजेट नै नदिएको अवस्थामा समेत प्राधिकरणले आफ्नै स्रोत र साधनबाट विद्युतीकरणको काम गरिरहेको छ । जनताको घरघरमा विद्युत् पुर्‍याउनु नै मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो । सुकुमबासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत् सेवामा पहुँच विस्तार गर्न निःशुल्क मिटर उपलब्ध गराएर विद्युतको पहुँच विस्तार गरिएको छ ।

विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ । गाउँ बस्तीको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ । जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो ? यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ । मलाई हतोत्साहित गर्ने जति धेरै प्रयास भए पनि म आफ्नो कार्यकाल र भूमिकाप्रति भने असन्तोष हुनुपर्ने कुनै कारण देखेको छैन । यसका केही ठोस आधारहरु पनि यहाँ स्मरण गर्न चाहन्छु ।

(क) मेरो पहिलो कार्यकाल २०७३ साल भाद्र ३० गतेबाट र दोश्रो कार्यकाल २०७८ साल श्रावण २५ गतेबाट सुरु भएको थियो । पहिलो कार्यकालमै दैनिक करिव १८ घण्टासम्म हुने गरेको लोडसेडिङ्गको अन्त्य गरिएको थियो ।

(ख) मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशत भन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको अवस्था छ । आगामी एक वर्षभित्र पूर्ण विद्युतीकरण हुने गरी कार्य भैरहेको छ । भौगोलिक रूपले विकट तथा आर्थिकरुपले सीमान्तकृत एवम विपन्‍न वर्गका जनतालाई विद्युतको पहुँच पुर्‍याई निःशुल्क विद्युत मिटरसमेत जडान गर्ने कार्य भएको छ ।

(ग) आव २०७२।७३ सम्म प्राधिकरणको सञ्चित घाटा कबव ३५ अर्ब रुपैयाँ रहेको र सोही आवको मात्रै घाटा करिब ९ अर्ब रुपैयाँ रहेकोमा आव २०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आव २०८०/८१ सम्ममा सञ्चित नाफा करिब ४७ अर्ब रुपैयाँ पुगेको छ । आव २०७२/७३ मा प्राधिकरणको कुल सम्पत्ति करिब २११ अर्ब रुपैयाँ रहेकोमा हाल करिब ६४४ अर्ब रुपैयाँ पुगेको छ । यो नाफा महसुल वृद्घि गरेर भएको हैन बरु यस अवधिमा पटक-पटक गरी ३ पटकमा करिब २५ प्रतिशत महसुल घटाउँदा पनि भएको नाफा हो ।

(घ) प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्‍न शिर्षकहरुमा आव २०७२/७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भूक्तानी गरेकोमा पछिल्लो ८ वर्षमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी कुल ८२ अर्ब रुपैयाँ भूक्तानी गरेको छ ।

(ङ) विगत ८ वर्षमा प्राधिकरणले मात्र करिब एक खर्ब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ भने सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रुपैयाँ लगानी गरेको छ ।

(च) वर्षायाममासमेत विद्युत आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत तीन वर्षदेखि वर्षायाममा भारतमा विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ । गत आवबाट विद्युत् आयात भन्दा निर्यात बढी गरी करिब १७ अर्बको विद्युत् निर्यात भएको थियो । साथै नेपालसँग सिमा नजोडिएको तेस्रो देश बंगलादेशसम्म पनि गत नोभेम्बरबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु भएको छ ।

(छ) आव२०७२/७३ मा करिब २६ प्रतिशत विद्युत प्रणालीको चुहावट रहेकोमा आव २०८०/८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्‍त भएको छ । यसले गर्दा प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो योगदान पुगेको छ ।

(ज) विद्युतको सहज एवम् पर्याप्‍त आपूर्ति भएसँगै देशभित्र करिव तीन गुणाले विद्युत् खपत वृद्धि भएको छ । आव २०७२/७३ मा प्रति व्यक्ति विद्युत खपत करबव १३१ यूनिट रहेकोमा हाल प्रति व्यक्ति विद्युत् खपत बृद्धि भै करिब ४०० यूनिट पुगेको छ । यसरी खपत वृद्धि हुनुमा विद्युतीय सवारी साधन, विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणहरुको प्रयोगमा वृद्धि हुनु र घरायसी तथा औद्योगिक माग वृद्धि हुनु प्रमुख कारण रहेको छ ।

(झ) २० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकलाई विद्युत् महसुल निःशुल्क र न्यूनतम दस्तुर ३० रुपैयाँ मात्रै लिने व्यवस्था गरिएको छ । मुलुकभर करिब ६० लाख विद्युत उपभोक्ता मध्ये यस्तो सुविधा लिने घर परिवार करिब २२ लाख रहेको छ । साथै सिंचाइ, खानेपानी, चार्जिङ्ग स्टेशन, मठ मन्दिर, शीतभण्डार आदिमा प्राधिकरणले खरिद गरेको मूल्य भन्दा अत्यन्तै न्यून दरमा विद्युत् महसुल लिने गरिएको छ । यसरी प्राधिकरणले आफ्नो आयबाट राज्यको दायित्वलाई बहन गर्दै आएको छ । यति गर्दा पनि प्राधिकरणलाई निरन्तर नाफामा लैजान सकिएको अवस्था छ ।

(ञ) गाउँ बस्तीको विद्युतीकरण मात्र नगरी स्थानीय निकायहरूसँगको सहकार्यमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको छ ।

(ट) आव २०७२/७३ मा देशभित्रको कुल विद्युत् उत्पादन क्षमता करिब ८५६ मेगावाट रहेकोमा करिब ४ गुणाले वृद्धि भै हालसम्ममा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजीक्षेत्र गरी करिब ३५०० मेगावाट पुगेको छ । प्राधिकरणले निजी क्षेत्रसँग लेउ वा तिरको आधारमा विद्युत् खरिद सम्झौता गरी बजारको सुनिश्‍चितता गरेको कारणले निजी क्षेत्रबाट विद्युत् उत्पादन अपेक्षितरुपमा वृद्धि भएको छ ।

(ठ) सौर्य विद्युत् उत्पादनलाई प्राथमिकतामा राखी प्राधिकरणले आफैं र निजीक्षेत्रबाट गरी करिब ११७ मेगावाटको सौर्य विद्युत् उत्पादन गरिसकेको छ भने करिब ११३ मेगावाटको आयोजना निर्माणाधिन छन् भने ९६० मेगावाट सौर्य विद्युतको विद्युत् खरिद बिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ ।

(ड) ८ वर्षअघि दुई हजार आठ सय मेगावाटको मात्र विद्युत् बिक्री सम्झौता गरिएकोमा हाल निजी क्षेत्रको करिव ११ हजार मेगावाट भन्दा बढी आयोजनाहरुको विद्युत खरिद सम्झौता सम्पन्‍न भएको छ भने करिब ८००० मेगावाटको जलविद्युत् आयोजनाहरू निर्माणको विभिन्‍न चरणमा रहेको छ ।

(ढ) आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र होइन, विद्युत् उत्पादनमा पनि लगानी बढाएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, २० मेगावाटका रोलवालिङ जलविद्युत् आयोजनाहरू निर्माणाधीन छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा १६८ मेगावाटका आयोजनाहरू सञ्‍चालनमा आएका छन् भने १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना सञ्‍चालनको अन्तिम चरणमा रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरु अगाडि बढाएको छ ।

४२ मेगावाटको माथिल्लो मोदी–ए, १८.२ मेगावाटको माथिल्लो मोदी र ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । २१० मेगावाटको चैनपुर सेती, १०६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । यी आयोजनाहरूको निर्माण पूर्वका तयारीका कार्यहरू द्रुत गतिमा भइरहेका छन् । अप्पर अरुण आयोजना नेपाल जनताको लगानीमा अगाडि बढाउन कोशिष गर्दा जिम्मेवार निकायहरूबाट सहयोग प्राप्त हुन सकेन । यो आयोजना नेपाल र नेपाली जनताको हितमा छ । यस आयोजनालाई कहिँ कतै सडयन्त्र मुलक ढंगले बन्न नदिने र प्राधिकरणको स्वामित्वबाट बाहिर लैजाने प्रयास भएमा सबैले यसको प्रतिरोध गर्ने छन् भन्ने मलाई विश्वास ।

४९२ मेगावाट क्षमताको अरुण–४ जलविद्युत् आयोजना भारतको सतलज जलविद्युत निगमसँगको संयुक्त लगानीमा विकास गर्ने गरी अगाडि बढाइएको छ । ६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजनालाई भने नेपाल र बंगलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको छ । त्यस्तै दक्षिण एसियाली क्षेत्रकै नमूना परियोजनाका रूपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली (चिसापानी) बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ । दैनिक माग र आपूर्ति बीचको उतारचढावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्‍न ठाउँमा करिब ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत् आयोजनाहरूको पहिचान गरी करिब ८०० मेगावाटका केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको छ ।

(ण) प्राधिकरणको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याई डिजिटल एनईए अवधारणा अनुरूप प्राधिकरणका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सुरु गरिएको छ ।

अत्याधुनिक सुविधा सम्पन्‍न अन्तर्राष्ट्रिय स्तरको वितरण प्रणाली नियन्त्रण तथा डेटा सेन्टर निर्माण सम्पन्‍न गरी सञ्‍चालनमा ल्याइएको छ । स्मार्ट मिटर, स्काडा, ईआरपी प्रणाली लागू गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । संस्थाभित्रको सुशासनलाई कठोरताकासाथ लागू गरिएको छ ।

(त) आव २०७२/७३ मा १३२ केभीसम्मको प्रसारण लाइनबाट मात्र चलिरहेको नेपालको राष्ट्रिय प्रसारण प्रणाली हाल २२० केभी र ४०० केभीबाट सञ्‍चालन भएको छ । ८ वर्ष अगाडि २ हजार ९०० किमि रहेको प्रसारण लाइन हाल करिब ८ हजार सर्किट किमि पुगेको छ भने ग्रिड सवस्टेसनको क्षमता करिब २ हजार २ सय एमभीएबाट करिब १४ हजार एमभीए पुगेको छ ।

(थ) भारतसँगको विद्युत व्यापारका लागि दोस्रो बुटवल– गोरखपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणाधिन छ भने इनरुवा–पूर्णिया, लम्की–बरेली ४०० के.भी. तथा चमेलिया– जौलजीबी २२० केभी प्रसारण लाइन कार्यान्वयनको विभिन्‍न चरणमा छन् । साथै नेपाल र चीन बीच चिलिमे–केरुङ्ग २२० के.भी. प्रसारण लाइन अगाडि बढाउन दुईदेश बीच समझदारी भएको छ । यसरी सन् २०३५ सम्ममा करिव २० हजार मेगावाट विद्युत निर्यात गर्न सकिने गरी प्रसारण लाइनको सञ्‍जाल विस्तार हुनेछ ।

(द) देशका प्रमुख सहरहरुलाई ११ वटा प्रमुख क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने गरी प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ ।

(ध) आव २०७२/७३ मा वितरण लाइनतर्फ १ लाख २१ हजार सर्किट किमि रहेकोमा हाल २ लाख २० हजार सर्किट किमि पुगेको छ भने वितरण सवस्टेसन क्षमता ६४० एमभीएबाट करिब २ हजार ६०० एमभीए पुगेको छ । साथै काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकाका मुख्य मुख्य शहरहरूमा विद्युतीय तार भूमिगत गर्ने कार्य सम्पन्‍न हुने चरणमा रहेको छ । मुख्य मुख्य वितरण लाइनहरू भूमीगत प्रणालीबाट चालु भैसकेको र पोल तथा तारहरु हटाउने चरणमा पुगेको छ ।

(न) इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर एए‌‌± रेटिङ प्राप्‍त गरिरहेको छ यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्‍कसँग बहन गर्न सक्ने क्षमतामा रहेको देखिएको छ छ ।

(प) प्राधिकरणले देशैभरी रहेको सम्पत्तिको भौतिक परिक्षण तथा मूल्याङ्कन गर्न विश्व बैंकसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता नियुक्त गरी सम्पत्तिको भौतिक परिक्षण तथा पूनर्मूल्याङ्कन सम्पन्‍न गरी करिब ९९ अर्ब फेयर भ्यालु थप भएको छ । यसलाई समेत आधार मानी प्राधिकरणले सर्वसाधारणलाई आईपीओ जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यौं, राष्ट्रको आर्थिक बचत गर्‍यौं र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्यौं । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागु गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निणर्यले क्षण भरमा संस्था लथालिङ र भताभुङ हुनसक्ने अवस्था विद्यमान छ । यसका लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।

यी सफलताहरू मेरो एक्लो प्रयासले मात्र सम्भव भएका होइनन् । यो समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न समम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो ।

आम उपभोक्ता सर्वसाधारणले म प्रति दर्शाउनु भएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन् । आगामी दिनका लागि मेरा आत्मबलका स्रोत र मार्गदर्शन हुन् । यसका लागि नेपाली जनतासँग सदैव आभारी रहनेछु । सहज र असहज सबै समयमा कार्यकारी निर्देशकसँग काँधमा काँध मिलाउने, होस्टेमा हैसे गर्ने नेपाल विद्युत् प्राधिकरणका सबै तह र तप्काका सहकर्मी कर्मचारी साथीहरू तथा क्रियाशील टे्रड युनियनलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणले गरेका आर्थिक उपब्धिमा नेपाल सरकार र हाम्रा विकास सहयोगी नियोगहरूको निरन्तरको सहयोग र सद्भावले मात्र सम्भव भएको छ । विश्‍व बैंक, एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपेली युनियन, युरोपेली लगानी बैंक (ईआइबी), एसियन इन्फ्रस्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी), केएफडब्लू, नर्बिजियन सहयोग नियोग, साउदी फन्ड, ओपेक फन्ड, यूयसएड, एक्जिम बैंक इन्डिया, एक्जिम बैंक कोरिया, एक्जिम बैंक चाइना जस्ता सहयोगी नियोगहरुको नेपालको ऊर्जा क्षेत्रको विकासमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ । सबै निकाय धन्यवादको पात्र हुन् ।

प्राधिकरणले प्राप्त गरेका उपलब्धि संस्थान विशेषको उन्नतिको मात्र विषय होइन, राष्ट्रिय आत्मविश्वास जागरणको ऊर्जा पनि हो । यस अवधिमा आवश्यक निर्देशन, समन्वय र सहजीकरण गरिदिनुहुने विभिन्न सरकारका प्रधानमन्त्रीज्यू, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रीज्यू, प्राधिकरणका बोर्डका सदस्यज्यूहरू, माननीय सांसदज्यूहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीज्यूहरू, नेपाल सरकारका कर्मचारीज्यूहरू, स्थानीय तहका पदाधिकारीहरू, सुरक्षा निकायहरु, दातृ निकायका सदस्यहरू, प्राधिकरणको हरेक क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहान्छु । आगामी दिनमा पनि त्यस्तै सहयोग र मागदर्शन प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । प्राधिकरणका नियमित काम कारबाहीहरूको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुर्‍याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।

राज्यले दिएको जिम्मेवारी इमान्दारी र निष्ठाकासाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष/अप्रत्यक्ष चौतर्फी रुपमा प्रहारका प्रयास भएका थिए । मलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।

कुलमान घिसिङ

निवर्तमान कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरण


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ