काठमाडौँ, १८ चैत : सांसद रामप्रकाश चौधरीले काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लाग्नुभएको थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनको कार्यसूचीका बारेमा थप प्रस्ट पार्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले भ्रमणका क्रममा कुनै पनि सम्झौता गर्नुपर्ने भए नेपाली जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले तीनकुने घटनामा ज्यान गुमाएका व्यक्तिका लागि सरकारका तर्फबाट उचित राहत र क्षतिप्रर्तिको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।
सांसद चित्रबहादुर केसीले राजनीतिक दलका बीचमा मतभेद भए पनि लोकतन्त्र र गणतन्त्रका सवालमा कुनै विवाद र द्विविधा नभएको तथा विगतका गल्ती कमजोरी दोहो¥याउन नहुने बताउनुभयो । उहाँले काठमाडौँको तीनकुने घटनाबाट ज्ञान लिएर गल्ती कमजोरी सुधार गरेर जनतालाई विश्वासमा लिनुपर्ने बताउनुभयो ।
सांसद राजेन्द्रकुमार केसीले काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकले आयोजना गरेको प्रदर्शनमा परी निधन भएकामा दुई जनालाई उचित राहत तथा क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले सो घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन आग्रह गर्नुभयो । लामो समय लोतान्त्रिक गणतन्त्र स्थापनाका सन्दर्भमा भएका आन्दोलनमा कुनै पनि लुटपाट नभएको जानकारी दिँदै उहाँले गैरकानुनी रुपमा भएका गतिविधिलाई नियन्त्रणमा लिन र कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।