04/02/2025, 03:19:03

आईपीएल क्रिकेट : राजस्थानद्वारा चेन्नई पराजित, दिल्लीको लगातार दोस्रो जित


काठमाडौँ, १८ चैत : राजस्थान रोयल्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । पहिलो दुई खेलमा पराजित राजस्थानले आइतबार चेन्नई सुपर किंग्सको चुनौतीलाई ६ रनले पन्छायो । पहिलो खेल जितेको चेन्नई त्यसयता लगातार दोस्रो खेलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो ।

नितिश रानाले ३६ बलमा ८१ रन जोडे । प्लेयर अफ द म्याच उनले १० चौका र ५ छक्का प्रहार गरे । कप्तान रियान परागले २८ बल खेली समान २ चौका र छक्कासहित ३७, सञ्जु सामसनले २० र सिम्रोन हेटमायरले १९ रन बनाए । चेन्नईका खलिल अहमद, नुर अहमद र माथिशा पाथिरानाले २–२ विकेट लिए ।

जवाफमा आएको चेन्नईले ६ विकेट गुमाई १ सय ७६ रन मात्र बनाउन सक्यो । कप्तान रुतुराज गायकवडले ४४ बल खेली ७ चौका र १ छक्कासहित ६३ रन बनाए ।

राहुल त्रिपाठी १९ बलमा २३, शिवम दुबे १० बलमा १८, महेन्द्रसिंह धोनी ११ बलमा १६ रन बनाई आउट भए । रवीन्द्र जडेजा २२ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ र जेमी ओभरटन ४ बलमा ११ रन बनाई अविजित रहे ।

जोफ्रा आर्चरले पहिलो ओभरमै रचिन रवीन्द्रलाई आउट गरी राजस्थानलाई राम्रो सुरुआत दिलाएका थिए । आर्चरले ३ ओभरमा १३ रन मात्र खर्चे । वानिन्दु हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए ।

दिल्लीको लगातार दोस्रो जित

सनराइजर्स हैदराबाद भनेपछि आक्रामक ब्याटिङ जोडिन्छ । आईपीएलमा कुनै टोलीले ३ सय रनको स्कोर पहिलो पटक छुने सम्भावना छ भने त्यसमा सबैभन्दा पहिला हैदराबादको नाम आउँछ । तर यही हैदराबादको टोली लगातार दोस्रो खेलमा पराजित भइसकेको छ ।

पछिल्लो पटक टोली दिल्ली क्यापिटलसँग ७ विकेटले पराजित भयो । टस जितेर ब्याटिङमा आएको हैदराबादले विशाखापटनममा पावर प्लेभित्र ४ विकेट गुमाइसकेको थियो । तर उनीहरूको आक्रामक खेल्ने शैलीमा परिवर्तन आएन । ६ ओभरको समाप्तिमा ५८–४ को स्थितिमा रहेको हैदराबाद १० ओभरमा १०५–४ को स्थितिमा पुगेको थियो ।

हैदराबादको इनिङ्स १८.४ ओभरमा १ सय ६३ रनमा पुगेर टुंगिएको थियो । अनिकेत बर्माले ४१ बलमा ७४ रन बनाएपछि मात्र हैदराबाद त्यो स्थितिमा पुगेको थियो । उनले ५ चौका र ६ छक्का प्रहार गरे । हेनरिक क्लासेनले १९ बलमा समान २ चौका र छक्कासहित ३२, ओपनर ट्राभिस हेडले १२ बल खेली ४ चौकासहित २२ रन बनाए । हेडसँग समन्वय मिलाउन नसक्दा उनका ओपनिङ जोडी अभिषेक शर्मा १ रनमा रनआउट भए । मिचेल स्टार्कले हेडसहित ईशान शर्मालाई २ र नितिशकुमार रेड्डीलाई शून्यमा आउट गरी खेल दिल्लीको पक्षमा पल्टाएका थिए । प्लेयर अफ द म्याच स्टार्कले ३.४ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिए । देब्रेहाते स्पिनर कुलदीप यादवले ४ ओभरमा २२ रन मात्र खर्चेर ३ विकेट लिए ।

फाफ डु प्लेसिस र ज्याक फ्रेजर म्याकगुर्कले पहिलो विकेटमा ९ ओभरमा ८१ रन जोडेपछि दिल्लीले १६ ओभरमै १ सय ६६ रन बनायो । डु प्लेसिस १० औं ओभरको पहिलो बलमा ५० रनमा आउट भए । उनले २७ बल खेली समान ३ चौका र ३ छक्का प्रहार गरे । म्याकगुर्कले ३२ बल खेली ४ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाए । दिल्लीबाट पहिलो म्याच खेलिरहेका केएल राहुल ५ बलमा २ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए ।

अभिषेक पोरेल १८ बलमा समान २ चौका र छक्कासहित ३४ तथा ट्रिस्टन स्टब्स १४ बलमा ३ चौका प्रहार गरी २१ रनमा अविजित रहे । दिल्ली यस सिजनको पहिलो दुवै खेल जित्ने दोस्रो टोली भएको छ ।

रोयल च्यालेन्जर बेङ्लुरुले पनि पहिलो दुवै खेल जितेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ