04/02/2025, 00:11:46

अमेरिकी सिनेटरको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीद्वारा ‘संवाद’ को आह्वान


काठमाडौँ, १० चैतः  बेइजिङमा प्रमुख अमेरिकी व्यापारिक अधिकारीहरू र राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख काङ्ग्रेस सहयोगीले भाग लिएको बैठकमा चीनका दोस्रो नम्बरका नेता प्रधानमन्त्री ली किआङले आइतबार वासिङ्टनसँग ‘संवाद’ को आह्वान गर्नुभएको छ ।

ट्रम्पले लगाउनुभएको व्यापक भन्सार शुल्कले चीनको व्यापार सम्भावनालाई खतरामा पुर्‍याएसँगै विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको सम्बन्ध हालैका हप्ताहरूमा खस्किएको छ । मोन्टानाका रिपब्लिकन सिनेटर एवं ट्रम्प समर्थक स्टिभ डेन्ससँगको भेटका क्रममा प्रधानमन्त्री लीको उक्त टिप्पणी आएको हो । उहाँको भ्रमणलाई ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर सम्मेलन स्थापना गर्ने दिशामा तनावपूर्ण सम्बन्धलाई सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

हाम्रा दुवै पक्षले सङ्घर्षभन्दा संवादलाई, शून्य–योगफल प्रतिस्पर्धाभन्दा जित–जित सहकार्यलाई छान्नु आवश्यक छ”, लीले डेन्सलाई भन्नुभयो । भेटका क्रममा फेडएक्स, फाइजर र क्वालकम लगायतका प्रमुख कम्पनीका सिइओहरू पनि उपस्थित थिए । लीले वासिङ्टनले ‘सम्बन्धको स्थिर, सुदृढ र दिगो विकासलाई बढावा दिन चीनसँग मिलेर काम गर्ने’ आशा व्यक्त गर्नुभयो ।

यसअघि आइतबार नै लीले चाइना डेभलपमेन्ट फोरममा बेइजिङले ‘विखण्डन’ का बावजुद आर्थिक विश्वव्यापीकरणलाई अपनाउने बताउनुभयो । यो ट्रम्पले उत्पन्न गरेको व्यापार अशान्तिको अप्रत्यक्ष सन्दर्भ हो ।

– कठिन समय –

चिनियाँ नेताहरूले विशेष गरी उपभोगलाई बढावा दिएर महामारीको अन्त्यपछि अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा लैजाने प्रयास गरिरहेका छन् । ट्रम्पले चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूसँग भन्सार युद्ध चलाइरहनुभएकाले उनीहरूले देशलाई बहुपक्षीय आर्थिक प्रणालीको रक्षकका रूपमा स्थापित गर्न खोजिरहेका छन् ।

चीन इतिहासको सही पक्षमा, निष्पक्षता र न्यायको पक्षमा दृढतापूर्वक खडा हुनेछ र समयको कठिन अवस्थामा न्यायपूर्ण तरिकाले काम गर्नेछ”, एप्पलका सिइओ टिम कुक सहित व्यापारिक नेताहरूको उपस्थितिमा वार्षिक फोरममा लीले भन्नुभयो, “बेइजिङले आर्थिक विश्वव्यापीकरणको सही दिशामा रहनेछ, वास्तविक बहुपक्षवादको अभ्यास गर्नेछ र स्थिरता र निश्चितताको शक्ति बन्न प्रयास गर्नेछ ।

ट्रम्पद्वारा सुरु गरिएको नयाँ व्यापार युद्धको स्पष्ट सन्दर्भमा लीले ‘विश्वव्यापी आर्थिक विभाजन तीव्र हुँदै गइरहेको छ’ र ‘अस्थिरता र अनिश्चितता बढिरहेको छ’ भन्नुभयो ।

– इमानदार संवाद –

वार्ताहरूमा घातक लागू पदार्थ फेन्टानिल र यसका सुरुआती रसायनहरूको चीनबाट संयुक्त राज्य अमेरिकामा प्रवाहका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको थियो ।

ट्रम्पका अनुसार चीनमाथि लगाइएका नयाँ करहरू रसायनहरूको ढुवानी रोक्न बेइजिङको असफलताको कारणले हो, जसले विनाशकारी लागूपदार्थ सङ्कटलाई आधार बनाउँछ । वासिङ्टनले समाधान गर्नुपर्ने मुद्दाका रूपमा वर्णन गर्दै बेइजिङले लागुऔषधको अवैध उत्पादन र व्यापारमाथि पहिले नै कडाइ गरेको दाबी गरेको छ ।

डेन्सले शनिबार आर्थिक मामिलामा राष्ट्रपति सी जिनपिङका निकट सल्लाहकार उपप्रधानमन्त्री हे लिफेङसँग पनि भेटवार्ता गर्नुभएको थियो । डेन्ससँगको भेटका क्रममा उहाँले चीन ‘आर्थिक र व्यापारिक मुद्दाहरूको राजनीतिकरण, हतियारकरण र साधनको दृढ विरोध गर्दछ’ भन्नुभयो ।

उपप्रधानमन्त्री हेले चीन अमेरिकासँग ‘स्पष्ट संवादमा संलग्न हुन’ इच्छुक रहेको र उनीहरूसँग ‘धेरै साझा चासो र सहयोगका लागि व्यापक ठाउँ’ रहेको बताउनुभयो । ट्रम्पले लगाउनुभएको भन्सार शुल्कले संयुक्त राज्य अमेरिकामा चिनियाँ विदेशी ढुवानीमा २० प्रतिशतले वृद्धि गरेको छ ।

चीनको निर्यात गत वर्ष रेकर्ड उचाइमा पुगेको थियो । यद्यपि पर्यवेक्षकहरूले विश्वव्यापी व्यापार प्रणालीमा उथलपुथलले चाँडै बेइजिङलाई गतिविधि बढाउन अन्य तरिकाहरू खोज्न बाध्य पार्न सक्ने चेतावनी दिएका छन् । बेइजिङले यो वर्ष करिब पाँच प्रतिशतको वृद्धिलाई लक्षित गरेको छ । यो गत वर्षको जस्तै र धेरै अर्थशास्त्रीहरूले महत्त्वाकांक्षी मानेका लक्ष्य हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ