आइतबार, चैत ०२, २०८१

मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खांन


काठमाडौँ, ३ चैतः जनमत पार्टीका सांसद अब्दुल खांनले तराईका दलित समुदायको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद खांनले मधेसी दलितको शैक्षिक, आर्थिक तथा स्वास्थ्य अवस्था कमजोर रहेको र उनीहरु सामाजिक बहिष्करणमा परिरहेको बताउनुभएको हो । उहाँले अवसरबाट बञ्चित डोम र मुसहर समुदाय अझै विभेद भोग्न बाध्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मधेसी दलित समुदायको प्रौढ साक्षरता २३ दशमलव १ प्रतिशत मात्रै छ । यो समुदाय अझै पनि शिक्षा, रोजगार, स्वास्थ्य एवं अवसरबाट अलग छ”, उहाँले भन्नुभयो, “जब कुनै नागरिक आधारभूत मानवअधिकारबाट बञ्चित हुन्छ, त्यसले लोकतन्त्रलाई नै प्रश्न चिन्ह खडा गर्छ ।

विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न डुबेका सहकारीका पदाधिकारीहरुको सम्पत्ति, लगानी रोक्का र राहदानी जफत गनुपर्नेमा जोड दिनुभयो । उहाँले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक विकासमा केन्द्रित हुन जोड दिनुभयो । “आर्थिक विकास नगर्ने अनि लोकतन्त्रको कुरामात्र गरेर हुन्छ ?”, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले पूर्वविशिष्ट पदाधिकारीको आजीवन सेवासुविधा थप्ने विषयमा सरकारलाई गम्भीर हुन सुझाव दिनुभयो । उहाँले आजीवन सेवासुविधाले जनप्रतिनिधि सुविधा भोगतर्फ लक्षित हुने आशङ्का व्यक्त गर्नुभयो । सांसद चौधरीले झण्डै १८ हजार कैदीबन्दी बिरामी रहेको भन्दै उनीहरुको औषधि उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कैदीबन्दीका कारण राज्यले बेहोर्न परेको आर्थिकभार कम गर्न विभिन्न चाडपर्वमा कैद माफीको विषयबारे पुनःविचार गर्नसमेत उहाँको माग थियो ।

आमजनता पार्टीका सांसद प्रभु साहले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धात्मक बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । त्यसका लागि यस एयरलाइन्सभित्रको बेथिति नियन्त्रण गर्दै सुधार र व्यवस्थापनको आवश्यकता आँैल्याउनुभयो ।

सांसद साहले नेपाली आकाश सुरक्षित बनाउने, सी–चेक गर्ने र हवाई भाडा शुल्क नियन्त्रण गर्ने विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “पाँच वटा जहाज थन्किएर बसेको छ । यी जहाज कि उडाउनुपर्छ कि त व्यवस्थापन गर्नुपर्यो । यतिकै खर्चभार बढाएर सरकारले के सन्देश दिन खोजेको हो ?”, उहाँले भन्नुभयो ।

सांसद योगेन्द्र मण्डलले चतरा नहरको मुहानमा रहेको समस्या समाधान गर्न आग्रह गर्नुभयो । “६८ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको नहर अहिले आठ हजारमा सीमित भएको छ । किसानहरु प्रभावित भएका छन्”, सांसद मण्डलले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले आगामी बजेटले अनौपचारिक अर्थतन्त्र अघि बढाउने गरी आउनुपर्ने बताउनुभयो । उहाँले श्रम ऐन कार्यान्वयनमा जोड दिँदै योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा नियमनको आवश्यकता औँल्याउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको समस्या सम्बोधन गर्नतर्फसमेत ध्यानाकर्षण गराउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ