खोटाङ, २५ फागुनः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाउनुभयो । “दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रु ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ ।”
यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रु ४० लाख र २०८०/८१ मा विनियोजित रु २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो ।
नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको थियो ।
दिक्तेल–रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताउनुभयो । “दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माण सम्पन्न भएपछि पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा उपयुक्त सडक बन्नेछ ।”
तत्कालीन जिल्ला विकास समिति खोटाङले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म सिधा मार्ग (ट्रयाक) खोल्ने प्रयास गरिएको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको हो ।
कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिखुवाखोला पारिबाट थ्रीस्टार हाइड्रोपावर कम्पनीले राजापानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त निर्माणाधीन दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको स्थानीय व्यवसायीले बताएका छन् ।
यता, दिक्तेल–खानीडाँडा–आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो ।