सोमबार, फागुन १९, २०८१

सेयर बजार १३.६१ अंक घटे, नेप्से २८७६ अंकमा, १४ अर्ब २८ करोडको कारोबार


काठमाडौँ, १९ फागुनः  सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन । अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ ।

फागुन १ पछि लगातार बढेको बजारमा त्यसयता पहिलो पटक करेक्सन देखिएको हो । बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो ।

५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घटे । अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावरको ९.४५, सिन्धु विकास बैंकको ७.८५, हिमालयन रिइन्स्योरेन्सको ७.२५, नेसनल लाइफ इन्स्योरेन्सको ६.१७ तथा बोटलर्स नेपाल बालाजुको ५.४६ प्रतिशत मूल्य बढ्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७.२४, बाराही हाइड्रोपावरको ६.७७, सपोर्ट माइक्रोफाइनान्सको ६.६० र भूगोल इनर्जीको ६.४२ प्रतिशत मूल्य घट्यो । यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो । त्यसपछि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, एचआईडीसीएल प्रमोटर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ