शनिबार, फागुन १७, २०८१

बेलबारी मोरङमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु


सुन्दरहरैँचा (मोरङ), १७ फागुन : बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरु गरेको छ । प्रदर्शनी फागुन २० गतेसम्म जारी रहनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक विशेष समारोहका बीच प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनी अवलोकनपछि कलाकारका सृजनालाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यस्ता सृजनात्मक प्रयासलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदर्शनीमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिको झल्को दिने चित्रकला, सामाजिक यथार्थ झल्काउने डिजिटल आर्ट तथा परम्परागत मूर्तिकला मुख्य आकर्षणका रूपमा राखिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कोशी प्रदेश संयोजक सञ्जय बान्तवाले जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशका १४ वटै जिल्लाका सबै विधाका कलाकारको सहभागिता रहेको प्रदर्शनीमा एक सय ८६ कलाकारका दुई सय २१ वटा कलाकृति सामेल गरिएको उल्लेख गर्नुभयो ।

प्रदर्शनीका अवसरमा कलाकार अनुराधसिंह थापा विराटनगर, डिल्लीकृष्ण आले धनकुटा, पवन राजवंशी झापा, किन्थल खवास बेलबारी, कृष्णभक्त गजमेर पथरी शनिश्चरेलाई योगदानका आधारमा विशेष सम्मान गरिएको थियो ।

प्रदर्शनीको दोस्रो दिन आज राष्ट्रिय कलाकारसहितको कला कार्यशाला, तेस्रो दिन समसायिक कला, लोककला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन साङ्गीतिक, सांस्कृतिक समारोह रहने कार्यक्रमका प्रचारप्रसार संयोजक विकास बुढाथोकीले जानकारी दिनुभयो । उहाँले प्रदर्शनीको अवधिभर १५ हजारभन्दा बढी दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको बताउनुभयो । गत वर्ष कोशी प्रदेशको पहिलो प्रदर्शनी इटहरी उपमहानगर पालिकाको कृति र प्रकृतिको सङ्गमस्थल इटहरी म्याट्रिक्समा सम्पन्न भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ