शनिबार, फागुन १०, २०८१

पर्यटन प्रवर्द्धन गर्न उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड


जानकी (बाँके), १० फागुनः मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जनसँगै पर्यटन प्रवर्द्धन गर्न स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

आज बाँके राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यशाला गोष्ठीका सहभागीद्वारा स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जनासँगै आर्थिक अवस्था सुदृढ बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको हो । उक्त कार्यशाला गोष्ठीमा स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिका साथै विभिन्न उद्योग सञ्चालन गरिरहेका युवा व्यवसायी, सम्बद्ध सरोकार भएका निकायहरूको सहभागिता थियो ।

लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका धार्मिकस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ पर्यटनका माध्यमबाट विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटकीय गतिविधि सञ्चालन गरी स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्ने उद्देश्यले प्रदेश परिषद् ‘टुर प्याकेज’ का कार्यक्रम बनाउने योजनामा छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यले परिषद्ले बनाउने योजनामा अन्तरप्रदेश समन्वय र सहकार्यलाई जोड दिइने कार्यकारी निर्देशक जोशीले उल्लेख गर्नुभयो । उहाँले पर्यटन व्यवसायका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिनिधिसभाका सांसद सूर्य ढकालले बाँके पर्यटकीय रूपमा प्रशस्त सम्भावना बोकेको जिल्ला रहेको बताउँदै तीनै तहका सरकारले आपसी समन्वय गरी विशेष योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारद्वारा गरिने भूमिकामा आवश्यक सहजीकरण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको मुलुक भएकाले यहाँ भएका धार्मिकस्थल, विभिन्न जातजातिका रीतिरिवाज, परम्परा, संस्कृति, खानपिनलगायको प्रवर्द्धन गरी स्थानीयलाई जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्ज स्थापनाको उद्देश्यसँगै निकुञ्जले प्राप्त गरेका उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो । बाघ संरक्षणको उद्देश्य राखी विसं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको सङ्ख्या २३ रहेको उहाँले उल्लेख गर्नुभयो ।

बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताउँदै कँडेलले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या वृद्धि गर्नुपर्ने भन्दै सोका लागि घाँसेमैदानको क्षेत्रलाई बढाउँदै लगिएको जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जको ओभरी नजिकै क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी (ड्राइभ) र पैदल यात्राका लागि विभिन्न ‘प्याकेज’ निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

वातावरण तथा ग्रामिण विकास केन्द्र (इनरुडेक) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) को संयुक्त साझेदारीमा सम्पन्न भएको उक्त कार्यशालामा लुम्बिनी प्रदेशसभाका सांसद नमूना केसीले बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताउँदै उहाँले त्यस क्षेत्रमा आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी तयारी र योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ”, उहाँले भन्नुभयो, “बाँकेका प्रत्येक होटेलमा छिर्दा पाहुनाले निकुञ्जका तस्बिर देख्न पाउनुपर्छ । यो पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने माध्यम हो ।

कार्यशाला गोष्ठीमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरि सुवेदीले पछिल्लो समय बाँके पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए पनि पर्यटन उद्यमीका लागि व्यावसायिक योजना बन्न नसकेको बताउनुभयो । उहाँले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउँदै यहाँको चुरे क्षेत्रलाई पनि विशेष संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका पर्यटन उद्यमी लागि अवसर सिर्जना गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो गोष्ठीले छबुँदे ‘कोहलपुर घोषणापत्र’ सार्वजनिक गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ