काठमाडौँ, कात्तिक १८ :नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताउनु भएको छ ।
मन्त्री खरेलले ‘सबै तहबाट निर्वाचन राष्ट्रिय प्राथमिकतामा छ, यसमा द्विविधा नहोस र निर्वाचनको वातावरण निर्माण गर्न सरकारदेखि सरोकारवाला सबैपक्ष क्रियाशील छन्’ भन्नुभयो ।
नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका सम्पादकीय नेतत्वसँगको छलफलमा मन्त्री खरेलले भन्नुभयो, ‘‘जेन्जी आन्दोलनको जगमा यो सरकार गठन भएको र २०८२ फागुन २१ मा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ ।’’
निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल, जेन्जी समूह र अन्य सरोकारवालासँग पटक पटक छलफल गरिरहेको जानकारी दिनुहुँदै मन्त्री खरेलले भन्नुभयो, ‘‘एउटा दलले सुरक्षाको प्रत्याभूतिमा बढी जोड दिएको छ, निर्वाचनमा जान सबै दल तयार रहेको अवस्था छ, यस्तो बेलामा सरकारको स्वामित्वमा रहेका मिडियाको जिम्मेवारी अझ बढी छ ।’’
मन्त्री खरेलले जेन्जी समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकता राखेर प्रकाशन, प्रसारण गर्न सम्पादकहरूसँग आग्रह गर्नुभयो ।

उहाँले युवा पुस्तालाई आकर्षित गर्न सिर्जनात्मक सामग्री (क्रियटिभ कन्टेन्ट) लाई प्राथमिकता दिन पनि जोड दिनुभयो ।
छलफलमा गोरखापत्र, द राइजिङ नेपाल, गोरखापत्र अनलाइन, राष्ट्रिय समाचार समिति, सार्वजनिक प्रसारण (रेडियो नेपाल र नेपाल टेलिभिजन) का सम्पादकीय नेतृत्वले आ–आफ्ना मिडियाले दिएका प्राथमिकता र निर्वाचन तयारीको विषयमा मन्त्री खरेललाई जानकारी गराउनु भएको थियो ।
मन्त्री खरेलले यसअघि पनि विभिन्न सञ्चार माध्यमका वरिष्ठ पत्रकार र सम्पादकसँग छलफल गर्नुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












