12/20/2025, 19:27:08
शनिबार, पुष ०५, २०८२

सकारात्मक वर्डअफ माउथसहित हलमा दर्शक बढाउँदै प्रदर्शनरत सिनेमा ‘परान’


काठमाडौं, १८ कात्तिक : गत शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘परान’ले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ । भावनात्मक पारिवारिक कथा पेश गर्ने सिनेमा हेरेर दर्शकहरू भक्कानिएको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । यो सिनेमा हेर्ने जत्तिले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

हास्य टेलिसिरियल ‘सक्किगोनी’मा ‘काकु’को पात्रमार्फत चिनिएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको सिनेमा ‘परान’बाट कथावस्तु, अभिनय र प्रस्तुतिको तारिफ बटुलिरहेका छन् । दर्शकले प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकहरूको भनाई छ ।

सिनेमाको केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारहरूले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् । सिनेमाले नकारात्मक प्रतिक्रिया लगभग पाएको नै छैन भने पनि हुन्छ । सिनेमा हेर्ने धेरै दर्शकहरू भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेका छन् ।

परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मानिसको मन छोइरहेका कारण ‘परान’ लाई देशभर उत्कृष्ट ‘वर्ड अफ माउथ’ प्राप्त भइरहेको छ । रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि थुप्रै सेलिब्रेटी, राष्ट्रिय व्यवसायीहरूका साथमा पत्रकार तथा सम्पादकहरूले सिनेमालाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको सिनेमाको रूपमा प्रशंसा गरेका थिए ।

चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यको सहस्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा निर्माण भएको सिनेमाले डेब्यू निर्माणमै उत्कृष्ट सिनेमा ल्याएको भनेर यतिखेर नेपाली रजतपटमा चर्चा भइरहेको छ ।

वर्षाका कारण दर्शकको फुटफलमा केही कमी देखिएको भएपनि हिजो आइतबारबाट सिनेमाले पिकअप लिएको दाबी निर्माण टिमको छ । हल संख्या समेत बढेको निर्माण पक्षले जनाएको छ ।

दर्शकले मुख्य रूपमा सिनेमाको कथा र प्रस्तुतिलाई मनपराएका छन् । यसको कथानकको लयले दर्शकलाई विस्तारै भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ । आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा पर पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ ।

सिनेमाले पस्किएको पारिवारिक कथामा दर्शकले धेरैजसो क्षणमा आफूलाई अनुभूत गर्छन्, जसका कारण उनीहरूले यो सिनेमालाई मन पराएका छन् । यसले परिवारको अर्थ, महत्व, बाबुछोराको सम्बन्ध, पुँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीच आ-आफ्ना सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वका कुराहरूलाई प्रस्तुत गर्छ, जसमा दर्शकले निसर्त आफूलाई पाउँछन् ।

यसरी दर्शकले सहजरूपमा आफूलाई नै पर्दामा हेरिरहेझैँ अनुभव दिएकोले सिनेमालाई दर्शकले हेर्नुपर्ने र छुटाउन नहुने सिनेमाको रूपमा लिएका हुन् । सिनेमाले दर्शकलाई निराश बनाउँदैन् । यस्ता विभिन्न कारणहरूले गर्दा सिनेमा दर्शकले मन पराएको विश्वास निर्माण टिमको छ ।

सिनेमामा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ ।