11/03/2025, 16:29:45
सोमबार, कार्तिक १८, २०८२

रोजगारीका लागि फेरि मुगलानको बाटो


नेपालगन्ज, कात्तिक १७ : दसैँ, तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व मनाउन स्वदेश आएका पश्चिम नेपालका पहाडी जिल्लाका नेपाली युवाहरू रोजगारीका लागि फेरि भारत फर्किन थालेका छन् । चाडपर्व सकिएपछि कतिपय खेतीबाली नभित्र्याएरै रोजगारीका लागि भारत फर्किन थालेका छन् । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा अहिले फेरि दैनिक जसो रोजगारीका लागि भारततर्फ जाने गरेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार चाडपर्व सकिएपछि फेरि दैनिक भारत जाने नेपालीको लर्को लाग्न थालेको छ । अहिले दैनिक हजारदेखि दुई हजारको हाराहारीमा नेपाली युवा कामका लागि भारततर्फ जाने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले सबैभन्दा बढी भारतको पन्जाब, सिमला, अहमदाबाद, हरियाणा, गुजरात लगायतका स्थानमा युवा रोजगारीका लागि जाने गरेका छन् । रोजगारीका लागि भारत जानेमा अधिकांश २० देखि ३५ वर्षको सेरोफेरोकै व्यक्ति रहने गरेको प्रहरीले जनाएको छ । भारत फर्किनेले चाडपर्वका लागि मात्रै आफ्नो देश र गाउँ घरमा फर्किनुपर्ने बाध्यता रहेको बताएका छन् ।

भारत फर्किंदै गरेका जाजरकोटका नरेशबहादुर सिंहले स्वदेशमा राम्रो काम नपाइएपछि बाध्य भएर भारत जान थालेको बताउनुभयो । उहाँले दसैँतिहार जस्ता चाडपर्व नआउने हो भने आफ्नो घर, गाउँ र आफन्त नै भेट्न नपाइने दुःखेसो पनि सुनाउनुभयो । कामका लागि भारत जान लाग्नुभएका सल्यान शीतलपाटीका रमेश विकले चाडपर्व सकिएपछि अब पेटको जोहो गर्न मुगलान जान थालेको बताउनुभयो । उहाँले फेरि अर्को वर्षको दसैँमा गाउँघर फर्किने बताउनुभयो ।

सिंह र विक त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । रोजगारीका लागि भारत छिर्न नाकामा पुगेका अधिकांश युवाले देशमा रोजगारीका अवसर नभएको गुनासो गर्दै अर्काको देशमा दुःख गर्न जानु बाध्यता भएको बताएका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार आगामी केही महिनासम्म रोजगारीका लागि भारत जाने नेपाली युवाको सङ्ख्या झन् झन् बढ्दै जाने छ ।