काठमाडौं, १८ कात्तिक : यो वर्षको दशैं यता चलचित्र विकास बोर्ड नेपाली तथा विदेशी सिनेमाको बक्सअफिस रिपोर्ट निरन्तर सार्वजनिक गर्दै आएको छ । हरेक हप्ताको सोमबार नेपाली हलमा प्रदर्शनरत सिनेमाको बक्सअफिस कलेक्सन सार्वजनिक गर्दै आएको छ ।
यसैबीच, आज सोमबार चलचित्र विकास बोर्डले हाल देशव्यापी प्रदर्शनरत नेपाली सिनेमाको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । जसमा दशैं यता सार्वाधिक कमाउने सिनेमा पहिलो स्थानमा गत असोज ३१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जेरी अनटप’ छ । यो सिनेमाले गत शनिबार राती ११ः५९ बजेसम्म १० करोड ५१ लाख ४८ हजार ग्रस कलेक्सन गरेको हो ।
यो सिनेमा सुपरस्टार अनमोल केसीको करियरकै सर्वाधिक कमाई गर्ने सिनेमा बनेको छ । उनले अभिनय गरेका कुनैपनि सिनेमाले बक्सअफिसमा १० करोडको आँकडा पार गरेका थिएन । ‘जेरी अनटप’ कमाई आक्रामक मात्रै नभई अनमोलको अभिनयको समेत तारिफ पाउने सिनेमा हो ।
यस्तै, दशैंमा रिलिज भएका सिनेमा मध्ये बलिदान सवैभन्दा धेरै कमाउने सिनेमा हो । यो सिनेमाले हालसम्म बक्सअफिसमा ५ करोड १० लाख ३४ हजार ग्रसकलेक्सन गरेका छ । दशैंमा नै प्रदर्शनमा आएका अन्य दुई सिनेमा मध्ये ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख ३७ हजार र माइतीघरले ४ करोड १५ लाख ५१ हजार ग्रसकलेक्सन गरेका छन् ।

यता, तिहारको भाइटीकाबाट प्रदर्शनमा आएका दुई सिनेमा मध्ये सुरेन्द्र पौडेल निर्देशित सिनेमाका बरिष्ठ बलरामको कमाई सुखद देखिए पनि अर्जुन सुवेदी निर्देशित सोल्टिनी कमजोर देखिएको छ । अभिनेता दयाहाङ राई, बिजय बराल र समृद्धी अर्याल अभिनित बरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ग्रसकलेक्सन गर्दा प्रकाश सपुत र परिक्षा लिम्बु अभिनित सोल्टिनीले जम्मा २८ लाख ८० हजार ग्रस कमाएको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

तिहारको भाइटीकाको भोली पल्ट अर्थात कार्तिक ७ गतेबाट प्रदर्शनमा आएको हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले दोस्रो हप्ताको शनिबारसम्म बक्सअफिसमा १ करोड ९५ हजार ग्रसकलेक्सन गर्न सफल भएको देखिन्छ । धिरज मगर, मिरुना मगर, दीया पुन र अभिनेता दयाहाङ राईको विशेष भूमिकासहित स्टार कलाकार रहँदा पनि ‘मैझारो’को कमाई र दर्शक प्रतिक्रिया औषत रह्यो ।
गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा परान र दक्षिण भारतीय सिनेमा ‘बाहुबली’का दुई श्रृंखलालाई जोडर पुनः प्रदर्शन गरिएको सिनेमा ‘बाहुबलीः द एपिक’को बक्सअफिस कलेक्सन भने चलचित्र विकास बोर्ड आज सोमबारबो रिपोर्टमा समावेश गरेको छैन् ।

										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    


