11/05/2025, 00:36:58
मङ्गलबार, कार्तिक १९, २०८२

कार्यकारी पद छाडेर साधारण सदस्य भएर बस्न तयार छु : गगन थापा


काठमाडौँ, १८ कात्तिक : कांग्रेस महामन्त्री गगन थापाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सुधारका विभिन्न प्रस्ताव गरेका छन् । उनले पार्टीभित्रको वर्तमान स्थिरता, निर्णय प्रक्रियामा सीमित पहुँच र पुस्तान्तरणमा ढिलाइका कारण संगठन कमजोर हुँदै गएको भन्दै अब ढिलो नगरी निर्णायक कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।

थापाले आफ्नो प्रस्तावमार्फत कांग्रेसलाई नयाँ युगको राजनीतिमा सक्षम, जवाफदेही र जनमुखी बनाउन सुधारका खाका अघि सार्दै अहिलेको राजनीतिक अवस्था विशेष र असामान्य भएकाले दलभित्र पुराना ढर्रा तोड्दै नयाँ पुस्तालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनै पर्ने समय आएको बताए । उनले भने, ‘हामीले सुधारको कुरा गर्ने तर निर्णयमा ढिलो गर्ने परम्परा अब अन्त्य हुनुपर्छ । कांग्रेसलाई इतिहासको गतिको औजार बनाउन हामी सबैले साहसिक निर्णय लिनुपर्छ ।

थापाले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको संरचना, नेतृत्व छनोट, सदस्यता प्रणाली र उम्मेदवार चयन प्रक्रियामा आमूल परिवर्तन गर्नुपर्ने उल्लेख छ । उनले पार्टीको सदस्यता सबैका लागि खुला र सहज बनाउनुपर्ने बताए । उनका अनुसार, अब पार्टीका सदस्यहरू केवल नामका मात्र होइन, निर्णय प्रक्रियामा बराबर सहभागी हुने सुनिश्चितता गर्नुपर्छ ।

उनले पार्टीका सबै तहमा नयाँ पुस्ता, महिला र विविध समुदायको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । वडास्तरदेखि केन्द्रीय तहसम्म ३० वर्षमुनिका युवाहरू अनिवार्य सहभागी हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । ‘अब नेतृत्व पुस्तान्तरणको कुरा केवल नारामा सीमित रहनु हुँदैन,’ उनले भने, ‘निर्णय तहमा नयाँ पुस्ताको प्रवेश नै पार्टीको जीवन्तताको आधार हो ।

थापाले उम्मेदवार छनोटको विषयमा पनि मौलिक प्रस्ताव अघि सारे । उनका अनुसार, स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको नेतृत्व छनोट गर्दा पार्टीका सक्रिय सदस्यहरूले नै आफ्नो क्षेत्रमा योग्य र लोकप्रिय व्यक्तिलाई प्राथमिकताका आधारमा छनोट गर्ने प्रणाली बनाउनुपर्छ । यसरी सदस्यहरूले गरेको प्राथमिक छनोट नै पार्टीका उम्मेदवार छनोटको आधार बन्नुपर्ने उनको तर्क थियो । यसबाट नेताहरू माथिबाट थोपर्ने संस्कृतिको अन्त्य हुने र आन्तरिक लोकतन्त्र बलियो हुने उनको विश्वास थियो ।

त्यस्तै, थापाले पार्टीको निर्णय प्रक्रिया, बैठक प्रणाली र जिम्मेवारी बाँडफाँटमा पारदर्शिता ल्याउने र संरचनालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याए । ‘पार्टीको संरचना अहिले जटिल र ढिलो निर्णय गर्ने प्रवृत्तिले भरिएको छ । यसलाई समयानुकूल, तीव्र र जवाफदेही बनाउनु हाम्रो पहिलो जिम्मेवारी हो,’ थापाले भने ।

थापाले पार्टीको सबै तहमा समावेशीता र समान अवसर सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने कुरा जोड दिए । उनका अनुसार, हरेक समुदाय, पेसा, धर्म, भाषा र भौगोलिक क्षेत्रका प्रतिनिधिहरूको उचित अनुपातमा सहभागिता हुने गरी संरचना पुनः निर्माण गर्नुपर्छ । यसका लागि उनले जातीय, पेसागत र क्षेत्रीय आधारमा छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, थापाले पार्टीको नेतृत्व चयन तलका तहबाटै हुने प्रणाली लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । उनले भने, ‘अब कसैले माथिबाट पद नपाउने, हरेक नेतृत्व तल्लो तहबाटै निर्वाचित भएर आउने व्यवस्था गर्नुपर्छ । यही लोकतन्त्रको मर्म हो ।

बैठकमा थापाले पार्टीको संविधान संशोधनका विषयमा पनि सघन छलफलको आवश्यकता औंल्याउँदै आठौँ संशोधनका लागि मस्यौदा समिति गठन गर्न आग्रह गरे । उनका अनुसार, पार्टीको सबै तहमा निर्णय प्रक्रियामा सदस्यहरूको भूमिका, नेतृत्व छनोटको प्रणाली, जिम्मेवारी र पदावधि र संगठनात्मक अधिकारहरू स्पष्ट हुने गरी संविधान संशोधन गर्नुपर्छ ।

थापाले भने, ‘हामी अहिले विशेष र असामान्य अवस्थाबाट गुज्रिरहेका छौं । यदि नियमित महाधिवेशन सम्भव छैन भने, अब विशेष केन्द्रीय महाधिवेशनको बाटो खोल्नुपर्छ ।‘  थापाले त्यसका लागि आफूहरुले पद छाड्न तयार रहेको बताए । ‘हामी पदका लागि होइन, सुधारका लागि होमिन तयार छौं । आवश्यकता परे म कार्यकारी पद छोडेर साधारण सदस्य भएर पनि सुधारका अभियानमा अघि बढ्न तयार छु ।

– कुलचन्द्र न्यौपाने