काठमाडौं। काठमाडौंको ठमेल संसारका धेरै मुलुकका विदेशी मुद्रा कारोबार हुने प्रसिद्ध पर्यटकीय गन्तव्य हो । स्वदेशी हुन् वा विदेशी– धेरैजसोका आँखा दरबारमार्गबाट ठमेल पस्दै गर्दा स्वप्न बगैंचापछि लहरै देखिने विदेशी क्लोथिङ तथा उच्च हिमाली भेगमा प्रयोग हुने आउटडोर माउन्टेन गियरमा आधारित विदेशी कपडाका ब्रान्ड ‘दी नर्थ फेस’, ‘माउन्टेन हार्डवेयर’, ‘ब्ल्याक याक’, ‘कोलम्बिया’, ‘रेड फक्स’, ‘मारमट’ आदिमा ठोक्किन्छन् । तर, त्यहाँ रोकिएर किनमेल गर्ने विरलै हुन्छन् ।
पछिल्ला वर्षमा यी ब्रान्डका डाउन–ज्याकेट, पोलार–फिलिस ट्राउजर, टोपी, हाइनेक, हुडी, ट्र्याकसुट र पोलिफाइबरबाट बनाइएका ज्याकेट किन्न जानेहरू विदेशी ब्रान्डभन्दा नेपाली ब्रान्डका आउटलेटमा बढी झुम्मिएका देखिन्छन् । माघको दोस्रो साता काठमाडौंमा जाडो ह्वात्तै बढेका बेला सहरी क्षेत्रका मानिसहरू र खेलाडीलाई लक्षित गर्दै ११ वर्षदेखि केटीएमसीटी ब्रान्डका नाममा स्थापित शेर्पा आउटडोर प्रालिले आफ्ना उत्पादनमा ७० प्रतिशतसम्म छुटको अफर सार्वजनिक गरेको छ । यो अफरले काठमाडौंलगायत बाहिरका सहरहरू दमक, धरान र पोखराका २८ वटै आउटलेटमा ग्राहकको भीड बढाएको छ । विदेशी ब्रान्डले सार्वजनिक गर्ने ‘सेल’ अफर र ‘विन्टर क्लिरेन्स’ मा अहिले उपभोक्ताले त्यति विश्वास गरेको देखिँदैन । तर, नेपाली ब्रान्डमा यस्ता छुट अफर सार्वजनिक हुँदा कतिपय उत्पादन साता नबित्दै सकिइसकेका छन् ।
‘नेपालीको पकेटलाई ध्यानमा राखेर हामी विदेशी ब्रान्डकै हाराहारीको गुणस्तर भएका कपडा उत्पादन गरिरहेका छौं,’ केटीएमसीटीका सञ्चालक काजी शेर्पाले भने, ‘नेपालीको औसत आम्दानी मासिक २० हजार हाराहारी छ । त्यसैलाई ध्यानमा राखेर हामीले सुपथ मूल्यमा विश्वस्तरीय डिजाइनका कपडा बजारमा ल्याइरहेका छौं ।’
केटीएमसीटी पछिल्लोपटक सहरी क्षेत्रका सबै वर्गको रोजाइमा परेको छ । आफ्नो ‘ब्रान्ड–नेम’ भित्री भागमा राखेर विभिन्न खाले पहिरन उत्पादन गर्दै आइरहेको शेर्पा आउटडोरले खेलाडीका लागि आवश्यक पोसाक र सामग्री पनि उत्पादन गरिरहेको छ । नेपालको राष्ट्रिय फुटबल टोली, अन्य नेपाली फुटबल क्लब, सामाजिक संस्था स्काउटलगायतलाई पनि तयारी पोसाक उपलब्ध गराउँदै आएको छ ।
उपभोक्ताको रोजाइमा परिरहने यसले हरेक याममा कपडाका प्रकार र डिजाइन बदल्दै आएको छ । हाल रामहिटी बौद्धमा रहेको उद्योगबाट तयारी पोसाक उत्पादन गरिरहेको केटीएमसीटीले नेपालबाहिर पनि कपडा निर्यात गरिरहेको छ । ‘वार्षिक ५० करोड रुपैयाँ हाराहारीका कपडा उत्पादन गरिरहेका छौं,’ सञ्चालक शेर्पाले भने, ‘अहिले हामीले उत्पादन गर्ने कपडाबाट ८० प्रतिशत नेपाली बजारमा र बाँकी २० प्रतिशत भारतमा निर्यात भइरहेको छ । भविष्यमा भारतमा ८० प्रतिशतको हाराहारीमा निर्यात गर्न झापामा अर्को कारखाना सञ्चालनमा ल्याउने तयारीमा छौं ।’ यसले हाल ८ सय नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ । ‘चाँडै झापाबाट हाम्रो ब्रान्डलाई विस्तार गर्दै छौं,’ शेर्पाले भने, ‘करिब साढे ३ अर्ब लगानी रहेको हाम्रो कम्पनीले त्यहाँ झन्डै २ हजार नेपालीलाई रोजगारी सिर्जना गर्दै छ ।’
केटीएमसीटीअघि काजी शेर्पाले ‘शेर्पा आउटडोर’ ब्रान्ड स्थापना गरेका थिए । यो अहिले पनि बजारमै छ । यसले उत्पादन गर्ने न्याना कपडा उच्च हिमाली भेगका बासिन्दा, आरोहण र पदयात्रीले खरिद गर्दै आएका छन् । तर, बिक्री अनुपातमा केटीएमसीटीका उत्पादन अत्यधिक हुने गरेको शेर्पाले बताए । ‘हिमालमा हुने आरोहणका लागि उत्पादन गरिएका कुनै पनि कपडा २ हजार पिस बिक्री हुँदा सहरी क्षेत्रमा प्रयोग हुने क्याजुअल ज्याकेट २० हजार पिस बिक्री हुन्छ,’ काजी शेर्पाले भने, ‘त्यसैले मैले यसमा धेरै सम्भावना देखेको छु ।’
कुनै बेला नेपाली सेनाका लागि पोसाक आपूर्ति गर्ने शेर्पा ७ वर्षअघि व्यापारका सिलसिलामा क्यानडा पुगेका थिए । त्यहाँ उनी केटीएमसीटीकै उत्पादनहरू बिक्री गर्थे । भारतको कोलकात्ता हुँदै काठमाडौंबाट पठाइएका लुगा ४०–४५ दिनमा टोरन्टो पुग्ने गरेको शेर्पाले बताए । ‘त्यहाँको मागअनुसार हामीले आफ्ना उत्पादन पुर्याउनै सकिरहेका थिएनौं,’ उनले भने, ‘त्यसै बेला मलाई नेपालमा खेलकुदमा प्रयोग हुने पोसाकलगायतका सामान यहाँ उत्पादन नभएको सम्झना दिमागमा आयो, अनि नेपाल फर्केर केटीएमसीटीलाई खेलकुदका सामग्री पनि उत्पादन गर्ने कम्पनीका रूपमा बिस्तार गरें ।’ अहिले धेरै मानिसले केटीएमसीटी नै डिमान्ड गरेको देख्दा आनन्द लाग्ने पनि उनले सुनाए ।
झापामा सुरु गर्न लागिएको गार्मेन्ट उद्योगमा विद्यार्थीलाई भम्रण गराउने योजना पनि रहेको शेर्पाले सुनाए । ‘विद्यार्थीलाई आधुनिक लुगा कसरी बन्छ भनेर देखाउने योजना छ, किनकि यो क्षेत्र संसारमा मानिस चाँडो धनी हुने पेसा हो,’ उनले भने, ‘विद्यार्थी भाइबैनीले भविष्यमा केही सिकून् र नेपालमै केही गरून् भन्ने उद्देश्यले झापामा विद्यार्थीलाई शैक्षिक भ्रमण गराउने योजना बनाएका हौं ।’
काजी शेर्पाजस्तै सोलुखुम्बुकै अर्का व्यवसायी आङ सोनाम शेर्पा पनि आउटडोर गार्मेन्टमा प्रख्यात छन् । ठमेलमा उनलाई नचिन्ने व्यवसायी र उनले नचिन्ने बिरलै होलान् । अझ उनले ३७ वर्षअघि सगरमाथाको अंग्रेजी नामबाट स्थापना गरेको ‘एभरेस्ट हार्डवेयर’ ब्रान्ड जीउमा नलाउने विरलै छन् । चाहे पदयात्रामा होस् वा हिमाल आरोहणमा एभरेस्ट हार्डवेयर ब्रान्ड देखिएकै हुन्छ ।
एभरेस्ट हार्डवेयर घरेलु तथा साना उद्योगको कार्यालयमा दर्ता भई सुरुमा यसको कारखाना ठहिटीमा स्थापना गरिएको थियो । अहिले स्वयम्भूमा छ । आङ सोनामको बिक्री केन्द्र ठमेलमा छ । उनी मागअनुसार ठमेलमा रहेका अधिकांश पसललाई आफ्ना उत्पादन डाउन ज्याकेट, वाटरप्रुफ जाकेट, विन्डप्रुफ ज्याकेट, सिलिपिङ ब्याग उपलब्ध गराउँछन् । कोभिडअघि ३०–३५ जना कर्मचारी राखेर वार्षिक ४ करोड हराहारीको कारोबार गर्ने यी शेर्पा अहिले मन्दीको मार खेपिरहेको बताउँछन् । अर्को समस्या सिपालु कामदारको पनि झेलिरहेको उनले सुनाए । ‘हाल चीनबाट थुप्रै कम्पनी भारतमा विस्तार भइरहेका छन्,’ उनले भने, ‘त्यहाँ राम्रो ज्यालाको अफरले नेपालमा वर्षौंदेखि काम गरिरहेका कालिगढ (सिलाइ र कटिङका सिपालु) हरू धमाधम उतै लागिरहेका छन् ।’
सहरिया मानिस, जो विदेशी महँगा ब्रान्ड खरिद गरेर पदयात्रामा जान सक्दैनन्, तिनैलाई लक्षित गरेर एभरेस्ट हार्डवेयरले ज्याकेट, ट्राउजर, हाइनेक उत्पादन गर्दै आएको छ । यति मात्रै होइन, हिमाली भेगबाट आउने अर्डरअनुसार पनि आफ्नो ब्रान्डका कपडा सिलाएर पठाउने गरेको आङ सोनामले बताए । ‘सन् २००७ मा मैले मेरो ब्रान्डले कत्तिको चिसो थेग्न सक्छ भनेर आफैं ती लुगा लगाई सगरमाथा आरोहण गरेर पक्कापक्की गरें,’ उनले भने, ‘हिमाल आरोहणमा चाहिने सबै टेक्निकल गियरहरू मैले उत्पादन गरेको छैन तर कपडा भने मकहाँ उल्लेख्य मात्रामा छन् ।’
विदेशीले २० हजार रुपैयाँमा बिक्री गर्ने ज्याकेट आफूले ३५ सयदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए । ‘हिमाली बस्तीका गुम्बा, स्कुल, भिक्षु, आनी, लामाहरूका लागि मेरो कम्पनीले नै एभरेस्ट हार्डवेयरका लुगा बनाउँदै आएको छ,’ उनले भने, ‘भारतको लद्दाक, मनाली, केरुङ, मनाङ, सोलुखुम्बुमा फिलिप तथा डाउनका जाकेट मैले नि पठाउँदै आएको छु ।’ १६ वर्षको उमेरदेखि आफूले गार्मेन्ट उद्योगमा काम गरेको पनि उनले सुनाए ।
जाडोमा लगाइने न्याना लुगा उत्पादन गर्नेमा ठमेल क्षेत्रमा मात्रै झन्डै डेढ दर्जन ट्रेडमार्क दर्ता भएका नेपाली ब्रान्ड छन् भने करिब ४ सय अरू ब्रान्डको नक्कल गर्ने गार्मेन्ट रहेको आङ सोनाम बताउँछन् । व्यवसायीहरूका अनुसार उच्च आयस्तर भएकाका लागि सोनाम ब्रान्ड रोजाइमा पर्ने गरेको छ । यसका काठमाडौं उपत्यकासहित देशभरि दर्जन हाराहारी आउटलेट छन् । मध्यम तथा न्यून आय भएकाका लागि राईको, मकालु, एभरेस्ट आउटफिट, डोल्पो, दावा गियर, कालापत्थर, वाइल्ड याक, लुक्ला आउटडोर, निरभाना आदि रहेको व्यवसायीहरू बताउँछन् । पछिल्लो पटक आरोही निर्मल पुर्जाका नामले चिनिएको निम्सदाइ ब्रान्ड पनि आउटडोर ब्रान्डको पछिल्लो पंक्तिमा उभिएको छ । कुनै बेलाको चर्चित शेर्पा ब्रान्ड हाल अमेरिकीहरूको स्वामित्वमा अमेरिकाबाट लुगा उत्पादन गर्दै आएको छ ।
दुई दशकअघि अहिले जस्तो नेपालमै सिलाइएका डाउन ज्याकेटलगायतका आउटडोर गियर पर्याप्त थिएनन् । ठमेलमा नेपाली व्यापारीले पर्यटकलाई झुक्याउँदै डाउन ज्याकेट बिक्री त गर्थे तर साँच्चिकै मल्टिनेसनल ब्रान्ड दी नर्थफेस, माउन्टेन हार्डवेयर, कैलाश आदिका उत्पादन यहाँ पाइँदैनथे । अन्तर्राष्ट्रिय कानुनअनुसार यसो गर्नु ठीक पनि थिएन । ‘विदेशीले तिमीहरूको दिमाग छैन । यस्तो राम्रो सिलाइ गर्छौं । आफ्नै स्वदेशी नाममा ब्रान्ड ल्याऊ न । किन अरूको नक्कल गर्छौं भनी हप्काएपछि मलाई हो त नि जस्तो लाग्यो,’ राईको ब्रान्डले डाउन ज्याकेट उत्पादन गर्दै आएका विनोदमणि राईले भने, ‘त्यसपछि मैले मेरो थरबाटै ज्याकेट उत्पादन सुरु गरें ।’
राईका साथीहरू उनको पसलमा घुम्दै पुग्दा कसैले फोन गरेर कता छौं भनी सोध्दा तिनले ‘राईको’ मा छु भन्थे । अनि विनोदले त्यही ‘राईको’ लाई ज्याकेट, ट्राउजर, हुड, सिल्पिङ ब्याग आदि आउडडोर गियरको ब्रान्ड नाम दिए । अहिले उनले उत्पादन गरेका राईको ज्याकेट सामाजिक सञ्जालमा खुबै देखिन्छ । ‘राईको ज्याकेट संसारभरका सबै ८ हजार अग्ला १४ वटै हिमालमा पुगिसक्यो,’ विनोदमणिले भने, ‘विदेशीको नामले नक्कल गर्नुभन्दा स्वदेशी ब्रान्ड स्थापना गर्नु रोजगारी सिर्जना र पहिचान तथा देशकै लागि पनि प्रतिष्ठाको विषय बन्ने गरेको छ ।’
व्यवसायीहरूका अनुसार नेपालमा उत्पादन हुने जाडोयामका कपडाका लागि चाहिने कच्चा पदार्थ तथा सामग्री सबैभन्दा धेरै चीनबाट आयात हुने गरेको छ । त्यसपछि भारत, ताइवान, कोरिया, बंगलादेश, जर्मनी, ओमानबाट पनि व्यवसायीहरूले आवश्यक कर्चा पदार्थ तथा मेसिनसँग सम्बन्धित सामान ल्याउने गरेका छन् । यो पेसामा कालिगड अझै पनि भारतबाट नल्याई हुँदैन । ‘मुख्य गरी कटिङ मास्टर र स्टिचिङ (सिलाई गर्ने) कालिगढ भारतको विहार या मधेशतिर मुस्लिम समुदायका मानिसहरूमै निर्भर हुनुपर्छ,’ आङ सोनामले भने, ‘नेपालमा हरेक दिन हजारौं युवा विदेश उडेको खबर सुनिन्छ तर हामी मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म भारतीय कामदारलाई भुक्तानी गर्छौं । यो क्षेत्रमा अझै नेपाली युवा पर्याप्त मात्रामा आकर्षित हुन सकेका छैनन् ।’
कामदारलाई उद्यमीहरूले प्रायः प्रतिपिसका दरले रकम भुक्तानी गर्छन् । ‘एउटा मास्टरले सामान्य थर्मल सेट सिलाएको ८० रुपैयाँदेखि डाउन ज्याकेट बनाएको १ हजार रुपैयाँसम्म ज्याला लिन्छन्,’ आङ सोनामले भने, ‘अधिकांश भारतीय कामदार कारखानामै डेरा गरी बस्छन् । दिनमा कम्तीमा ३ वटा ज्याकेट तयार पार्छन् ।’ उनको बुझाइमा नेपालले उत्पादन गर्ने टिसर्टदेखि ज्याकेटसम्म अन्तर्राष्ट्रिय स्तरका छैनन् । किनकि, सबैभन्दा पहिले नेपाली व्यवसायीले चीनबाट सस्तो मूल्यमा कच्चा पदार्थ आयात गर्छन् । अनि धागो, चेन, जिपर पनि सस्तै हाल्छन् ।
नेपाली व्यवसायीले उत्पादन गरेका कपडा विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्नुमा उत्पादनमा प्रयोग हुने कपडा तथा अन्य सरसमान नै हुन् । ‘विदेशी पर्यटकले जापानी जिपर, सिलाइमा जर्मनी र ओमानको धागो प्रयोग गरेका कपडा मन पराउँछन्,’ आङ सोनामले भने, ‘कोरियन र ताइवानका प्रोडक्टहरू पनि राम्रै हुन्छन् । तर, चीनले यति सस्तो र कम गुणस्तरको सामान बजारमा ल्याइदिन्छ कि हामी प्रतिस्पर्धी न त्यस्तो उत्पादन गरेर बजारमा पठाउन सक्छौं, न त धान्न नै सक्छौं ।’
संसारभरका गार्मेन्ट मेलामा नेपालबाट सहभागिता जनाउने आङ सोनाम माओवादी द्वन्द्वपछि खस्केको नेपालको गार्मेन्ट उद्योगलाई कोरोनाकाल र अहिलेको आर्थिक मन्दीले थप झट्का दिएको बताउँछन् । नेपालमा सियो पनि उत्पादन हुँदैन तर व्यवसायीले टालाटुली बटुली भनेझैं कुनै सामान कतैबाट त कुनै सामान कतैबाट जोडजाम गर्दै उद्योगहरू चलाइरहेको व्यवसायीहरूकै भनाइ छ । यहाँ सम्भावना र बजार दुवै छ । तर, ट्रेडमार्क चोरी नियमन, सरकारी कार्यालयमा हुने ढिलासुस्तीमा सुधारको अपेक्षा व्यवसायीहरूको छ । ‘बजारमा छ्यापछ्याप्ती नक्कली ब्रान्ड झुन्ड्याइएका हुन्छन्,’ सल्लेरी फेराका स्थायी बासिन्दा आङ सोनामले भने, ‘तर, सरकारका निकायहरू अनुगमन गरिदिँदैनन् । अर्काले दर्ता गरेर चलेको ब्रान्ड कम्तीमा चोरी नगरी आफैं मिहिनेत गरे घाटा छैन । सम्मानका साथ २० प्रतिशत मात्रै नाफा राख्दा पनि फाइदै फाइदा छ ।’
यस्तै सम्भावना देखेर आरोही दावा तासी शेर्पाले हालै आउटडोर एडभेन्चरमा प्रयोग हुने टिसर्ट, ज्याकेट, क्यापलगायतका सामग्री उत्पादन थालेका छन् । ७ वर्षअघि स्थापना भएको दावा गियरले नौ जनालाई रोजगारी दिएको छ । भक्तपुरमा यसको कारखाना छ । ‘मैले एक्लैले यो सुरु गरेको हुँ, अब यसलाई विस्तार गर्दै लैजाने सोच छ,’ दावाले भने, ‘म २०१४ को हिमपहिरोमा परेर भाग्यले जोगिएको आरोही हुँ । दावा गियर नै किन सुरु गरें भन्ने लामो कथा मेरो प्रकाशोन्मुख पुस्तकमा समेटेको छु ।’ दावा गियरको आम्दानीको केही हिस्सा सामाजिक काममा लगाउँदै अघि बढिरहेको र यस व्यवसायको राम्रो सम्भावना रहेको पनि उनले बताए ।
ईकान्तिपुर डट कमबाट..