11/24/2025, 16:02:47
सोमबार, मङि्सर ०८, २०८२

जेनजी प्रदर्शनमा प्रहरी हत्यामा संलग्न १३ जना जेल चलान, मुद्दा र पक्राउको संख्या कति ?


काठमाडौं, मङ्सिर ८ गते । देशभरका प्रहरीले दैनिकजसो मुद्दा दर्ता गर्न पछिल्लो समय सरकारी वकिल कार्यालयहरूमा बुझाउने अनुसन्धान प्रतिवेदन बढी मात्रामा गएको भदौ २४ गतेको घटना आरोपीका हुन्छन् ।

प्रहरीले गएको भदौ २४ गते भएको जेनजी समूहको प्रदर्शनका बेला सरकारी कार्यालय तथा निजी सम्पत्तिमा आगजनी गर्नेहरूविरुद्ध मुद्दा चलाउँदै आएको छ ।

शुक्रबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वर प्रहरी कार्यालयभित्र पार्किङमा सवारी साधनमा आगजनी गर्ने तथा कार्यालयमा आगो लगाउने एक जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो । मुद्दा दर्ता हुनेमा काभ्रे पाँचखालका २२ वर्षीय महेन्द्र मैनाली छन् ।

प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, मैनालीले कोटेश्वर प्रहरी प्रभाग कार्यालयका सवारी साधन र कार्यालय आगजनी गरेको देखिएको थियो ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ललितपुरको इमाडोल बस्दै आएका मैनाली प्रदर्शनका बेला सडकमा उत्रिएका थिए । कोटेश्वर प्रहरी कार्यालयका सवारी साधन, कार्यालय आगजनी गर्दै गरेको भिडियोका आधारमा अनुसन्धान गर्दा प्रहरीले मैनालीको पहिचान गरेर पक्राउ गरेको हो ।

मैनालीलाई काठमाडौं प्रहरीले कार्तिक ११ गते पक्राउ गरेको थियो । मैनालीविरुद्ध सरकारी वकिल कार्यालयले आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

मैनालीविरुद्ध प्रहरी कार्यालय आगजनी गरी एक करोड ३५ लाख ९७ हजार ५ सयमध्ये दामासाही र मोटरसाइकलको क्षति २ लाख ६१ हजार ९०० रुपैयाँ क्षतिपूर्ति दाबी लिएको छ ।

उता, महाराजगञ्ज प्रहरी र कोटेश्वर प्रभागका प्रहरी कर्मचारीको हत्याका आरोपीहरू पुर्पक्षका लागि जेल चलान भएका छन् । प्रदर्शनकारीहरूले महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या गरेका थिए ।

प्रहरीले भिडियो विश्लेषणपछि असई राय र जवान थापालाई क्रूरतापूर्वक हत्या गर्ने क्रियाकलापमा संलग्न होमप्रसाद पौडेल, टीकाराम बिक, बुद्धिलाल तामाङ र युवराज क्यापछाकीलगायतलाई पक्राउ गरेको थियो । उनीहरू सबै जेल चलान भएका छन् ।

कोटेश्वर प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङको हत्यामा संलग्न अनुपम भण्डारी, सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, दीपक मगर, सुमित तितुङ, अलिश श्रेष्ठ र सौरभ तामाङ समेत जेल चलान भइसकेका छन् ।

काठमाडौं प्रहरीले अनुसार, प्रहरीका हत्यामा संलग्न हालसम्म १३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । हत्याबाहेक प्रहरीका हतियार लुट्ने समूह समेत जेल पुगेका छन् ।

यसअघि भदौ २४ गतेको आपराधिक क्रियाकलापमा संलग्नहरूमध्ये ज्यान मुद्दा र बलात्कारबाहेकका अभियोगमा पक्राउ परेकालाई अनुसन्धान नगर्न गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा गृह मन्त्रालयले असोज ९ मा विज्ञप्ति जारी गरेको थियो । तर, प्रहरीले आगजनीमा संलग्नहरूलाई समेत धमाधम पक्राउ गर्दै मुद्दा चलाउन थालेको छ ।

पछिल्लो समय प्रहरीले सर्वोच्च अदालत आगजनी गर्ने समूहमा संलग्न पात्रहरूको खोजी कार्य तीव्र पारेको छ । फोटो तथा भिडियोका आधारमा प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउन थालेको हो ।

प्रदर्शनमा प्रहरी कार्यालयका हतियार लुट्नेदेखि सरकारी कार्यालयमा आगो लगाउने समूहसम्मको छुट्टाछुट्टै रूपमा अनुसन्धान भइरहेको छ ।

देशभर पक्राउ पर्नेको संख्या बढ्दै

प्रहरीले भदौ २४ मा भएको प्रदर्शनमा देशभर आपराधिक गतिविधि गर्ने ५७९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले अझै आपराधिक क्रियाकलापमा संलग्नहरूमाथि भिडियो र फोटोका आधारमा पक्राउ गर्दै आएको छ ।

यसरी पक्राउ परेकामध्ये २७७ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएका छन् । केहीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार काठमाडौंबाट दुई सय २२ जना, ललितपुरबाट २७ र भक्तपुरबाट २३ जना पक्राउ परेका छन् ।

त्यस्तै जेनजी प्रदर्शनीमा आपराधिक क्रियाकलापमा संलग्न कोशी प्रदेशबाट ५१ जना, मधेश प्रदेशबाट १४ जना, लुम्बिनीबाट ७७ जना, सुदूरपश्चिमबाट १४ तथा कर्णालीबाट ४ जना पक्राउ परेका छन् । गण्डकीबाट ८८ जना पक्राउ परेका छन् ।

उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लाबाट ५९ जना पक्राउ परेको रेकर्ड प्रहरी प्रधान कार्यालयसँग छ । तर अनुसन्धान प्रभावित हुनेगरी जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई ११ बुँदे प्रस्तावित सम्झौतापत्र बुझाएका छन् ।

मागअनुसार ज्यान मुद्दा र बलात्कारबाहेक अन्य मुद्दामा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने, बाँकी सबै अनुसन्धान गर्न छानबिन आयोगलाई जिम्मा दिनुपर्ने माग राखेका छन् । यता सरकारले जेनजी प्रदर्शन तथा भएको क्षतिबारे जाँचबुझ गर्न बनेको आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिने काम जारी राखेको छ ।

फिल्डमा खटिएका प्रहरीबाहेक पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले संलग्न भएकाहरूको बयान लिने कार्य जारी राखेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..