१ फागुन, पोखरा । पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो ।
ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले १–१ गोल गरे । खेलको सुरुआतदेखि नै उज्वेक टोलीले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेलको २४ औं मिनेटमा ओलिमोभले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा असिलबेकले अर्का खेलाडी इस्लोमजोनको क्रसमा थ्रीस्टारका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
खेलको ६३ औं मिनेटमा सात्तोरोफले गोल गर्दै अग्रता फराकिलो बनाए । बक्स बाहिरबाट बल अगाडि बढाएका उनले थ्रीस्टारका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी बक्स भित्रबाट आकर्षक गोल गरे । थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाउने कुनै मौका पाएनन् । खेलको ८७ औं मिनेटमा साइदजामोलले अर्को गोल थप्दै थ्रीस्टारको सम्भावना समाप्त गरिदिए । खेलमा असिलबेक ओरिफजोनोभ प्लेयर अफ द म्याच भए ।
ब्ल्याक बुल्सले आहा–रारामा क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । साविक उपविजेता थ्रीस्टार मछिन्द्रलाई हराएर सेमिफाइनल खेलेको हो । ब्ल्याक बुल्स र पुलिसबीच शनिबार फाइनल खेल हुने छ ।