04/19/2025, 00:29:31

ललितकला प्रतिष्ठानको आयोजनामा सातै प्रदेशमा हुने प्रदर्शनीको तयारी पुरा


काठमाडौँ, १ फागुनः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अगुवाइनमा सातै प्रदेशमा आयोजना हुने प्रादेशिक र राजधानी काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

गत वर्षदेखि संघीयता संरचना अनुसार सुरु भएको दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको तयारीमा सात वटै प्रदेशका ललितकलाकर्मी जुटेका छन् । यसपाली फागुन महिना ललितकलामय हुन लागेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली ललितकला क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रम (महा-उत्सव) मानिने ललितकला प्रदर्शनीमा देशभर एक हजारभन्दा बढी कलाकृति प्रदर्शनी हुने र त्यसबाट छनोट गरिएको कलाकृतिलाई गणतन्त्र दिवसका अवसरमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइने छ ।

सोहीअनुसार अहिले प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यलाई हरेक प्रदेशको जिम्मेवारी दिएर प्रादेशिक प्रदर्शनीको तयारी गरिएको छ । यही फागुन ४ गतेबाट सुरु हुने प्रादेशिक प्रदर्शनी आगामी चैतको १ गतेसम्म चल्ने छ । फागुन महिना सातै प्रदेश ललितकलामय हुँदैछ ।

महिनाव्यापी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा फागुन ४ देखि ८ गतेसम्म, कर्णाली प्रदेशमा फागुन ६ देखि १०, सुदुरपश्चिम प्रदेशमा फागुन ८ देखि १२, लुम्बिनी प्रदेशमा फागुन १० देखि १४, कोशी प्रदेशमा फागुन १६ देखि २०, मधेश प्रदेशमा फागुन २१ देखि २५ र बागमती प्रदेशमा फागुन २७ देखि चैत १ गतेसम्म प्रादेशिक कला प्रदर्शनी हुँदैछ ।

उक्त प्रदर्शनीका लागि प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय वान्तवालाई कोशी, अरुणा हिङ्माङलाई मधेश प्रदेश, उपकुलपति लालकाजी लामालाई बागमती, प्राज्ञ परिषद् सदस्य दिनेश्वर महतोलाई लुम्बिनी, सौरगङ्गा दर्शनधारीलाई गण्डकी, पाल्साङ्मो लामालाई कणाली र प्रदीप अधिकारीलाई सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीको संयोजनको जिम्मेवारी तोकिएको छ ।

उहाँहरुले आ–आफ्नो क्षेत्रमा उक्त प्रदर्शनीको अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशका प्रादेशिक कला प्रदर्शनीको संयोजन गर्नुभएका प्राज्ञ परिषद् सदस्य महत्तोले करिबकरिब तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो, “लुम्बिनीमा १२५ कलाकारका करिब २०० कलाकृति प्रदर्शनी हुने छन् ।

अन्य प्रदेशमा पनि कम्तिमा १०० देखि २०० सम्म कलाकृति हरेक प्रदेशमा प्रदर्शनी गर्न लागिएको छ । यसरी प्रदेशमा लुकेर रहेका कलालाई उजागर गर्दै माथि उठाउन र रुपान्तरणका लागि कला भन्ने उक्तिलाई सार्थक तुल्याउन हरेक प्रदेशमा कला प्रदर्शनी थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।

ति प्रदर्शनीमा प्रतियोगीका साथै अप्रतियोगि कलाकृतिसमेत प्रदर्शन हुनेछ । प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृति आउँदो गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुनेछ ।

यी विधामा पुरस्कृति गरिने

राष्ट्रिय प्रदशर्शनीमा रु एक लाख राशिको सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही रु ६० हजार राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

यसपाली ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक÷आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक÷आधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृति गरिने छ ।

यस्तै प्रदेशगत रुपमा रु ५० हजार राशिको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै रु ३० हजार राशिको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..