काठमाडौँ, २३ माघः पूजा महतो र कप्तान इन्दु बर्माको सानदार ब्याटिङमा नेपालले नेदरल्यान्ड्सलाई त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा १ सय ४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ४५ रन बनाएको हो ।
पूजाले अविजित ६२ रन बनाई महिला ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाइन् । गत वर्षको फेब्रुअरीमा उनले माल्दिभ्सविरुद्ध मलेसियामा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा अविजित ५९ रन बनाएकी थिइन् । पूजाको स्कोर यस शृंखलाकै व्यक्तिगत उच्च स्कोर पनि हो ।
पुजाले ५१ बल खेली ५ चौका प्रहार गरिन् । इन्दुले ३७ बल खेलि ५ चौका प्रहार गरी ३९ रन बनाइन् । सम्झना खड्का ६ रन बनाई पहिलो ओभरमा र अर्की ओपनर ममता चौधरी १ रन बनाई आउट भएपछि इन्दु र पूजाले तेस्रो विकेटमा ६३ बलमा ७८ रनको साझेदारी गरिन् ।
पूर्वकप्तान रुविना क्षेत्रीले १७ बल खेली ३ चौका प्रहार गरी २० रन बनाइन् । कविता जोशी ६ बल खेली १ छक्का प्रहार गरी ७ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट आइरिस विलिङले २ तथा क्यारोलिन डी लाङ्गे र हिथर्स सिगर्सले १–१ विकेट लिइन् ।
नेपाली टोलीमा एलिसा कुमारी यादवको स्थानमा सीता रानामगरलाई ल्याइएको छ । एलिसाको स्थानमा रोमा थापाले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने छिन् । नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा सीताले ५ विकेट लिनुका साथै अविजित १० रन बनाएकी थिइन् । तर उनलाई थाइल्यान्डविरुद्ध मंगलबारको खेलमा प्लेयिङ ११ मा राखिएको थिएन ।
तीन राष्ट्र सम्मिलित यस शृंखलामा नेपाल पहिलो चार खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्सले नेपालविरुद्ध यस शृंखलाका दुई खेलमा क्रमशः २० र १५ रनको विजय हात पारेको थियो । तर नेदरल्यान्ड्सलाई थाइल्यान्डले दुई खेलमा पराजित गरिसकेको छ । थाइल्यान्डले शृंखलामा खेलेको चार खेलमा नेपाल र थाइल्यान्डविरुद्ध २–२ खेलमा विजय हात पारेको छ ।