सोमबार, माघ २१, २०८१
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०

सामाजिक सञ्जाल प्लाटफर्महरूलाई नेपालमा सूचीकृत हुन सरकारको पुन: आग्रह


काठमाडौँ, २१ माघः फेसबुक, इन्स्टाग्राम, एक्स, लिंक्डइन जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई आफ्ना प्लाटफर्म नेपालमा सूचिकृत गर्न सरकारले पुन: सूचना जारी गरेको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ती तोक्न भनिएको छ ।

मन्त्रालयले विगत एक वर्षदेखि ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरुप सूचिकृत हुन प्लाटफर्म सञ्चालकहरूलाई पटक-पटक अनुरोध गर्दै आएको छ । हालसम्म नेपालमा टिकटक, भाइबर र विटक सहित तीनवटा मात्रै सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ६ ले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

निर्देशिकाका सर्तसँगै मन्त्रीपरिषद् बैठकले पनि सामाजिक सञ्जाल प्लाटफर्महरूले पालना गर्नुपर्ने जिम्मेवारीहरू तोकेको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । प्लाटफर्महरूले नेपालमा पालना र सञ्चालन गर्नुपर्ने चार बुँदे सूचीको पहिलो बुँदामा कम्पनीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने कार्य गर्नुपर्ने भनिएको छ । दोस्रोमा, सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर साइबर सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने कार्य सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, तेस्रोमा, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय समावेश छ । चौथो बुँदामा भनिएको छ, ‘नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने ।

सरोकारवालाहरूलाई निर्देशिकाका सर्त र मन्त्रिपरिषद्ले थप गरेका जिम्मेवारी पालना गर्न नेपालमा सुरक्षित र नियमनको दायराभित्र रहेर सरकारसँग सहकार्य गर्न विज्ञप्तीमार्फत आग्रह गरिएकोछ । सरकारले पटक-पटक अनुरोध गर्दासमेत नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेका फेसबुक र म्यासेन्जरको प्यारेन्ट कम्पनी मेटा, एक्स, लिंक्डइन लगायतले अटेर गर्दै आएका छन् ।

नेपालमा सूचीकृत नभइ र अनुमती पत्र नलिइ सामाजिक सञ्जाल एप सञ्चालन गरेमा सरकारले प्लाटफर्म नै बन्द गरिदिने प्रावधान प्रस्ताव गर्दै सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा लाइसेन्स लिएर मात्रै प्लाटफर्म चलाउन पाउने सर्त प्रस्ताव गरिएको छ । लाइसेन्स लिनुअघि प्लाटफर्महरू मन्त्रालयमा अनिवार्य सूचीकृत भएको हुनुपर्छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading