सोमबार, पुष ०८, २०८१

सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा किन्ने कि एस २३ मै चित्त बुझाउने ?


काठमाडौं । सामसङले बुधवार एस२४ सिरिज सार्वजनिक गरेको छ । नेपाली बजारमा हालसम्म एस२४ अल्ट्रा दुई ओटा भेरियन्टमा उपलब्ध हुँदैछ भने एस२४ र एस२४ प्लस एक-एक भेरियन्टमा उपलब्ध हुँदैछ । विश्वबजारमा यो फोन ३१ जनवरी २०२४ देखि उपलब्ध हुने अपेक्षा गरिएको छ । तर, नेपालमा कहिले सार्वजनिक हुन्छ भन्नेबारे केही खुलाइएको छैन ।

यसो त सामाजिक सञ्जाल र भिडिओ स्ट्रिमिङ प्लेटफर्ममा यी मोडेलबारे थुप्रै भिडिओ आइसकेका छन् । ती भिडिओमा विशेष फिचरहरूको चर्चा गरिएको छ । यी मोडेलमा गरिएका विभिन्न किसिमका परीक्षण फोन बजारमा आइसकेपछि मात्र देख्न पाइनेछ ।

कम्पनीले विभिन्न फिचरहरूको सम्पूर्ण जानकारी बाहिर ल्याइसकेको छ । त्यसैका आधारमा पनि एस२३ सिरिज र एस२४ सिरिजमा के कस्ता भिन्नता छन् भन्न सकिने अवस्था छ ।

सामसङले एस२४ सिरिज बढी टिकाउ, हलुका र आकर्षक बनाउन टाइटानियम धातुको प्रयोग गरेको छ । फोनको फ्रेममा टाइटानियम धातु देख्न सकिन्छ ।

त्यसबाहेक यी फोन अन्य विशेषताभन्दा पनि एआईका कारण चर्चित छन् । फोटो तथा भिडिओ एडिटिङ तथा सञ्चार गर्नका लागि कम्पनीले यो सिरिजमा विभिन्न एआई फिचर उपलब्ध गराएको छ ।

विशेषगरी ६० फ्रेम प्रति सेकेन्ड (एफपीएस) को भिडिओलाई पनि एआईले ९६० एफपीएसको स्लो मोसनमा परिणत गर्न सक्ने दाबी सामसङले गरेको छ ।

त्यस्तै कम्पनीले सात ओटा प्रमुख एन्ड्रोइड तथा सेक्युरिटी अपडेट उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसमा हामी एस२३ र एस२४ सिरिजको बारेमा थप चर्चा गर्दैछौं ।

डिजाइन

डिजाइनको सन्दर्भमा एस२३ सिरिज र एस२४ सिरिज लगभग उस्तै देखिन्छ । डिजाइनमा भिन्नै भने एस२४ अल्ट्राको फ्ल्याट डिजाइन र उक्त सिरिजमा टाइटानियम धातुको फ्रेम रहेको छ ।

यसमा कम्पनीले आईपी ६८ वाटर र डस्ट रेसिस्टेन्स दिएको छ भने एस२३ को तुलनामा टिकाउ हुने दाबी गरिएको छ । यी सबै मोडेलका फोन एस२३ जस्तै ब्ल्याक, पर्पल, एल्लोमा उपलब्ध छन् । तर, कम्पनीले एस२३ मा उपलब्ध गराएको ग्रिन कलर एस२४ लाई ग्रे कलरले विस्थापित गरेको छ । एस२४ र एस२४ प्लसमा एस पेन दिइएको छैन । तर, एस२४ अल्ट्रामा भने बिल्ट इन एस पेन समावेश गरिएको छ ।

एस२४ अल्ट्रा एस२४ लाइनअप अन्तर्गतको सबैभन्दा गह्रौं फोन होन हो । यसको तौल ३२३ ग्राम छ । यसमा आईफोन १५ प्रो जस्तै टाइटानियम फ्रेम समावेश गरिएको छ । एस२४ अल्ट्राको डिजाइन कर्भ्ड नभएर फ्ल्याट छ । यसले गर्दा फ्ल्याट स्क्रिनमा एस पेनले लेख्न सहज हुने अपेक्षा गरिएको छ ।

कम्पनीले एस२४ अल्ट्राको डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला आर्मर ग्लास प्रोटेक्टर उपलब्ध गराएको छ भने एस२४ र एस२४ प्लसमा गोरिल्ला ग्लास भिक्टस टु कभर ग्लास दिएको छ ।

र्‍याम र स्टोरेज क्षमता 

र्‍यामको सन्दर्भमा एस२४ मा ८ जीबी र्‍याम दिइएको छ भने २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध गराइएकाे छ । ग्यालेक्सी एस२४ प्लसमा १२ जीबी र्‍याम छ भने यसलाई पनि २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा खरिद गर्न सकिन्छ ।

त्यस्तै एस२४ अल्ट्रामा १२ जीबी र्‍याम तथा २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज भिरियन्टमा उपलब्ध गराइएको छ ।

डिस्प्ले

ग्यालेक्सी एस२४ लाइनअपमा ओएलईडी प्यानल दिइएको छ । ग्यालेक्सी एस२४ मोडेलमा ६.२ इन्चको स्क्रिन, एस२४ प्लसमा ६.७ इन्च र एस२४ अल्ट्रामा ६.८ इन्च स्क्रिन दिइएको छ ।

एस२४ सिरिजमा एस२३ को तुलनामा बढी ब्राइटनेस दिइएको छ । कम्पनीका अनुसार एस२४ सिरिजमा २६०० निट्स ब्राइनेस दिइएको छ, तर यता एस२३ सिरिजमा भने १७५९ निट्स ब्राइटनेस दिइएको थियो ।

एस२४ अल्ट्राले १३३० पिक्सेल सपोर्ट गर्छ भने एस२४ र एस२४ प्लसले १०८० पिक्सेल सपोर्ट गर्छन् ।

गेमिङका लागि रिफ्रेशरेट निकै महत्त्वपूर्ण मानिन्छ । कम्पनीले एस२४ सिरिजमा उच्चतम १२० हर्ज रिफ्रेश रेट उपलब्ध गराएको छ । त्यस्तै एस२४ सिरिजमा कम्पनीले भ्यापर च्याम्बर कुलिङ सिस्टम दिएको छ ।

एआई फिचरहरू 

यस पटक एस२४ सिरिजमा सर्वाधिक बढी चर्चा एआई फिचरको भएको छ । सामसङको आफ्नै एआईले उपलब्ध गराउने फिचरदेखि गुगलको जेमिनाई पाउन्डेस्नल मोडेलले उपलब्ध गराउने सबै फिचर नयाँ सिरिजमा ल्याएको छ ।

यी एआई फिचर एस२३ लाइनअप, जेड प्लिप फाइभ र जेड फोल्ड फाइभमा समेत छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ । एआई फिचरमा पनि सर्कल टु सर्च फिचर अत्यधिक चर्चाको विषय बनेको छ ।

कम्पनीले सञ्चारका लागि उपयुक्त हुने थुप्रै एआई फिचरहरू सार्वजनिक गरेको छ । विशेषगरी वास्तविक समयमै कललाई १३ विभिन्न भाषामा अनुवाद गर्नेदेखि, नोट असिस्ट, एन्ड्रोइड असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता फिचरहरू उपलब्ध गराएको छ ।

फोटो तथा फन्ट एडिटिङका लागि सामसङले नयाँ फिचर ल्याएको छ । फोटोमा भएको वस्तु हटाउन र त्यसको ठाउँमा ब्याकग्राउन्ड मिलाउ एआईले नै सहयोग गर्नेछ । त्यस्तै ग्यालेक्सी एआईले बोर्डर चौडा बनाउन र बाँकी भएको ठाउँमा उपयुक्त बोर्डर थप्नेछ ।

त्यस्तै एआईकै सहायताले थर्ड पार्टी एपबाट पनि एचडीआर फोटो खिच्न सकिन्छ । भिडिओ एडिटिङका सन्दर्भमा सामसङले कुनै पनि भिडिओलाई १२० एफपीएसको स्लो मोसन भिडिओ बनाउन सघाउनेछ ।

सफ्टवेयर अपडेट 

कम्पनीले एस२४ सिरिजका लागि सात पुस्तासम्मको अपरेटिङ सिस्टम र सात वर्षसम्मको सेक्युरिटी अपडेट उपलब्ध गराउने प्रतिवद्धता दिएको छ । यता गुगलले पनि पिक्सेल लाइनअपका लागि यति नै ओएस र सेक्युरिटी अपडेट उपलब्ध गराउने जनाएको छ । तर एस२३ मा भने कम्पनीले चार पुस्तासम्मको एन्ड्रोइड भर्सन अपडेट र पाँच वर्षसम्मको सेक्युरिटी अपडेट दिएको छ ।

क्यामेरा 

एस२४ र एस२४ प्लसमा प्रायः उही स्पेक्सको क्यामेरा दिएको छ । त्यसमा पनि यी फोनमा ५० मेगापिक्सलेको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको थ्री एक्स अप्टिकल जुम क्षमतासहितको टेलिफोटो क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि यसमा १२ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ ।

यता एस२४ अल्ट्रामा भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा, पाँच गुणासम्मको जुम क्षमता भएको टेलिफोटो क्यामेरा दिएको छ । अन्य भने एस२४ जस्तै १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको टेलिफोटो लेन्स दिइएको छ । सेल्फी पारखीका लागि यसमा १२ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

प्रोसेसिङ पावर 

अमेरिकामा उपलब्ध यी तीन ओटै मोडेलमा कम्पनीले स्न्यापड्रागन ८ जेन थ्री चिपसेट दिएको छ । नयाँ चिपसेट समावेश भएका डिभाइसले फोनमै जेनेरेटिभ एआईको काम गर्ने बताइएको छ । यो चिपसेटले गेमिङ एक्सपिरियन्स सुधार गर्ने कम्पनीको दाबी छ ।

यता अमेरिका बाहेकका देशमा उपलब्ध हुने एस२४ र एस२४ प्लसमा कम्पनीले एक्सिनस (Exynos) चिपसेट उपलब्ध गराउने बताएको छ ।

ब्याट्री र चार्जिङ 

एस२३ को तुलनामा एस२४ मा स्तरीय ब्याट्री दिइएको छ । कम्पनीले नै एस२४ सिरिजको ब्याट्री एस२३ को तुलनामा १५ प्रतिशत बढी टिक्ने उल्लेख गरेको छ । कम्पनीले उपलब्ध गराएको जानकारी अनुसार एस२४ को बेस मोडेलमा कम्पनीले ४००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ ।

यता एस२४ अल्ट्रामा भने ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसअघिको एस२३ अल्ट्रामा पनि कम्पनीले ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको थियो । कम्पनीले एस२४ प्लसमा भने ४९०० एमएएच क्षमताको ब्याट्री समावेश गरेको छ ।

यी तीन ओटै मोडेललाई वायर र वायरलेस दुबै तरिकाले चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार यी मोडेल क्यूआई वायरलेस चार्जिङ सपोर्ट गर्छन् । वायर्ड चार्जिङका सन्दर्भमा एस२४ अल्ट्रा र एस२४ प्लसलाई ४५ वाटको चार्जरले चार्ज गर्दा आधा घण्टामा ६५ प्रतिशत चार्ज हुन्छ । यता एस२४ ले भने २५ वाटको एडप्टरले आधा घण्टामा ५० प्रतिशत चार्ज गर्ने कम्पनीको भनाइ छ ।

एस२३ ले वाई-फाई सिक्स-ई सपोर्ट गर्छ । तर, एस२४ ले भने वाई-फाई-सेभेन सपोर्ट गर्ने कम्पनीको दाबी छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading