कास्की, २० माघ : विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा आज सम्पन्न टाइगर कप भलिबलको उपाधि जितेको छ । पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई हराउँदै उपाधि जितेको हो ।
‘टाइगर ग्रुप अफ अफ पोखरा’द्वारा आयोजित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिस क्लब च्याम्पियन बन्न सफल भएको हो । पोखरा रङ्गशालामा भएको फाइनल खेलमा पुलिसले गण्डकीलाई ३–१ सेटले पराजित गरेको हो ।
पुलिसले पहिलो, दोस्रो र चौथो सेटमा जित निकालेको हो । उसले पहिलो सेट २५–२३ अङ्कले तथा दोस्रो सेट २५–२१ अङ्कले जितेको हो । तेस्रो सेट गण्डकीले २५–२० अङ्कले जित्यो । चौथो सेट २५–२२ अङ्कले जित्दै पुलिस क्लबले उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले रु पाँच लाख ८५ हजार पाँच ५५ ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता गण्डकीले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो ।
यसअघि आजै सम्पन्न महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जित्यो । उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गरेको हो । टाइगर गु्रपले रु पाँच लाख ८५ हजार पाँच सय ५५ र उपविजेता एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पायो । पहिलो सेट १७–२५ अङ्कले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ अङ्कले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २१–२५ अङ्कले एपिएफले जित्यो । आयोजक टोलीले चौथो सेट २५–१६ अङ्कले जित्यो । अन्तिम सेट आयोजक टाइगर गुपले १५–१३ अङ्कको जितेर उपाधि चुमेको हो ।