बिहिबार, माघ १७, २०८१

हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ, १३ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवा विभागलाई प्रविधिमैत्री बनाइने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक सेवा विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले हुलाकको नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा उहाँले राख्नुभयो । उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउनमा गम्भीरताका साथ लागेको जानकारी दिनुभयो ।

हुलाक सेवा निकै पुरानो र महत्त्वपूर्ण भएकाले यसलाई आधुनिकीकरण गरी प्रविधि मैत्री बनाउन जरुरी रहेको उहाँको भनाइ छ । “अब हुलाकको नीति परिवर्तन हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “हुलाकलाई प्रविधिमैत्री बनाउने विषयमा मन्त्रालय सधैँ संवेदनशील छ ।

सो कार्यक्रममा स्थानीय तहका हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता केन्द्रमा रहेको गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आआफ्नो क्षेत्रमा सेवा प्रभावकारी बनाउनुहोस्”, उहाँले भन्नुभयो ।

सो कार्यक्रममा हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था र स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती तथा कार्य योजनामन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading