सोमबार, पुष ०८, २०८१

के हो बिटकोइन ईटीएफ, क्रिप्टोकरेन्सी पक्षधरहरू किन धेरै उत्साहित ?


लामो समयदेखि संयुक्त राज्य अमेरिकामा त्यस्तो निर्णय हुन सक्ने अनुमान गरिँदै आएको थियो । अब स्पट बिटकोइन एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफ)लाई निवृत्तभरण कोषदेखि लगानी ‘पोर्टफोलिओ’सम्म प्रायः सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ। यो निर्णयसँगै संसारभरिका क्रिप्टोकरेन्सी पक्षधरहरूले सामाजिक सञ्जालमा उत्साहपूर्वक धनी बन्ने सन्दर्भका मीमहरू पोस्ट गरेका छन् ।

ईटीएफ के हो?

ईटीएफ एक किसिमको ‘पोर्टफोलिओ’ हो। यसका आधारमा लगानीकर्ताहरूले धेरै जायजेथामा “बोली लगाउने” सुविधा पाउँछन्। त्यसो गर्दा कुनै पनि लगानीकर्ताले सीधै ती जायजेथा किन्नुपर्दैन । ईटीएफलाई पनि धितोपत्रमा बजारमा शेअर जसरी नै किनबेच गर्न मिल्छ। तिनको मूल्य समग्र ‘पोर्टफोलिओ’को भाउ वास्तविक समयमा कस्तो हुन्छ भन्नेमा निर्भर गर्छ।

कुनै ईटीएफ सुन र चाँदीको संयोजनबाट बनेको हुन सक्छ। अथवा यो शीर्ष प्रविधि र बीमा कम्पनीमा शेअरहरूको मिश्रण भए जस्तै हो भन्दा पनि हुन्छ । केही ईटीएफहरूमा अप्रत्यक्ष रूपमा पहिले नै बिटकोइनको मात्रा छ। तर स्पट बिटकोइन ईटीएफले ‘अन द स्पट’मा त्यसै बेलाको मूल्यमा दिनभरि सीधै क्रिप्टोकरेन्सी किन्न सक्ने छन्।

किन यति धेरै उत्साह?

ब्ल्याकरक र फिडेलटीलगायत करिब एक दर्जन लगानी कम्पनीहरू यूएस सिक्यअरिटिज एन्ड एक्सचेन्ज कमिशन (एसईसी)ले तिनलाई आफ्नै ईटीएफका लागि बिटकोइन किन्न सुरु गर्ने अनुमति देओस् भनेर महिनौँदेखि पर्खिरहेका छन्। कैयौँ सातादेखिको वाक्युद्धपछि अब त्यसले पहिलो पटक स्वीकृति प्राप्त गरेको छ । त्यसको अर्थ लगानीकर्ताहरूको नयाँ समूह अब डिजिटल वालेटमा पहुँच पाउने वा नपाउने तथा क्रिप्टो एक्सचेन्जहरूलाई नकारात्मक ढङ्गले व्यवहार गरिने चिन्ता नगरी बिटकोइनको सट्टा बजारमा प्रवेश गर्न सक्छन्।

नयाँ निर्णयसँगै वित्तीय कम्पनीहरूले डिजिटल कोइन किन्न थालेपछि बिटकोइन बजारमा अर्बौँ डलर प्रवेश गर्ने अपेक्षा गरिएको छ । यद्यपि केही विश्लेषकहरू क्रिप्टोकरेन्सीको मूल्य थोरै प्रभावित हुने बताउँछन् किनभने अन्य कतिपय देशहरूमा ‘स्पट बिटकोइन ईटीएफ’ पहिले नै स्थापित भइसकेका छन् । तर ठूला र प्रभावशाली अमेरिकी कम्पनीहरू बजारमा प्रवेश गरेपछि माग वृद्धि हुने र त्योसँगै बिटकोइनको मूल्य बढ्ने धेरै मानिसहरूले अपेक्षा गरेका छन्। यद्यपि बिटकोइनको मूल्य एकदमै अस्थिर रहने गरेको छ।

प्रतिबिटकोइनको मूल्य सन् २०२१ मा ७०,००० अमेरिकी डलर रहेकोमा सन् २०२२ मा १६,००० अमेरिकी डलरमा झरेको थियो। त्यसअघि त्यसको भाउ बढिरहेको थियो । ईटीएफका लागि स्वीकृति पाइने हल्ला चलेपछि सन् २०२३ मा यसको मूल्य बढेर प्रतिकोइन ४४,००० अमेरिकी डलर पुगेको छ । (बीबीसी डट कम बाट)


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading