चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले उत्कृष्ट क्यामेरा रहेको फाइन्ड एक्स सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हाललाई आफ्नो घरेलु चिनियाँ बजारमा मात्रै सीमित गर्नेगरी यो फोन ल्याएको हो ।
त्यसो त कम्पनीले यस अघि सार्वजनिक गरेको ओप्पो फाइन्ड एक्स सिक्स प्रो समेत चिनियाँ बजारमा मात्रै सीमित राखिएको थियो । अहिले आएको त्यसको पछिल्लो सिरिज समेत चीन बाहिर किन्न सकिने छैन ।
“हाललाई फाइन्ड एक्स सेभेन चीनको घरेलु बजारमा सीमित हुनेछ । हामीसँग अहिलेलाई चीन बाहिर जाने कुनै योजना छैन,” ओप्पोका प्रोडक्ट म्यानेजमेन्टका प्रमुख आर्ने हर्केलम्यानले भनेका छन् ।
फाइन्ड एक्स सेभेन अल्ट्राको क्यामेरामा के छ खास ?
ओप्पो फाइन्ड एक्स सेभेन अल्ट्राको पछाडि भागमा ५० मेगापिक्सेलका चार ओटा क्यामेरा लेन्स रहेका छन् । जसमा एक इन्चको ५० मेगापिक्सेल एलवाईटी-९०० मेन क्यामेरा र ५० मेगापिक्सेलको एलवाईटी-६०० अल्ट्रावाइड शुटर (१/१.९५ इन्च) रहेका छन् ।
ओप्पोका अनुसार यसमा राखिएको अल्ट्रा वाइड क्यामेरा फाइन्ड एक्स सिक्स प्रोको अल्ट्रावाइड सेन्सरभन्दा सानो छ । सफ्टवेयर ट्युनिङ र नयाँ सेन्सरका कारण यसबाट त्यसैको जस्तो परिणाम निस्किने हर्केलम्यानले बताएका छन् ।
यद्यपि जुममा केन्द्रित दुई ओटा संस्करणका कारण अल्ट्रावाइड सेन्सरको आकार घटाइएको समेत बताइएको छ । दुई ओटा पेरिस्कोप क्यामेरा प्रदान गर्ने यो नै पहिलो फोन हो ।
त्यसको नामै लिनु पर्दा ५० मेगापिक्सेलको ३x पेरिस्कोप क्यामेरा (IMX890, IOS) र ५० मेगापिक्सेलको ६x पेरिस्कोप शुटर (IMX858, OIS) रहेका छन् । ६x क्यामेराबाट क्रोपका साथै इमेजिङ स्मार्ट प्रयोग गरी २७० एमएममा समेत यसले उच्च गुणस्तरको जुम प्रदान गर्न सक्ने ओप्पोले बताएको छ ।
चिनियाँ ब्रान्डले विभिन्न किसिमका क्यामेराका कमजोरीहरूलाई सम्बोधन गर्न हाइपरटोन इमेजिङ इन्जिन तयार पारिएको समेत जनाएको छ । नामै लिएर भन्नु पर्दा यो इमेजिङ इन्जिनले बढी प्रोसेस गरिएका शट, अप्राकृतिक जस्ता लाग्ने एचडीआर र बढी एक्सपोज भएका तस्विर जस्ता समस्या समाधान गर्नेछ ।
नौ मिटर अर्थात् २९.५ फिट टाढाको सब्जेक्टको पोट्रेट मोड स्न्याप लिंदा समेत थप यथार्थपरक र प्रभावकारी पोट्रेशट निस्किने दाबी ओप्पोले गरेको छ ।
अन्य विशेषता
क्यामेरा मात्र नभएर ओप्पो फाइन्ड एक्स सेभेन अल्ट्रामा अन्य थुप्रै हाई-इन्ड फिचरहरू समावेश छन् ।
जसमा तपाईंले स्नापड्रागन ८ जेन ३ चिपसेट, १६ जीबीसम्मको र्याम, एक टीबीसम्मको स्टोरेज र डेडिकेटेड सेक्युरिटी चिप समेत पाउन सक्नु हुन्छ । वनप्लस १२ प्यानल जस्तै देखिने ओलेड स्क्रिन, ३,१६८ x १,४४० रिजोलुसन, ४,५०० निट्सम्मको ब्राइटनेस र १,६०० निट्ससम्मको हाई ब्राइटनेस मोड पनि यसमा दिइएका छन् ।
ओप्पोको भनाई अनुसार फाइन्ड एक्स सेभेन अल्ट्रामा वनप्लसको रेन वाटर टच स्क्रिन प्रविधि, अपडेट मार्फत स्क्रिनका लागि अल्ट्रा एचडीआरको सपोर्ट पनि उपलब्ध छ । ५,००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनका लागि १०० वाटको सुपर भोक वायर्ड चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ दिइएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीले फोनको मूल्य भने सार्वजनिक गरिसकेको छैन ।