बुधबार, माघ ०२, २०८१

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’


खोटाङ, २ माघः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नं ६ नेर्पामा रु १२ लाख तथा वडा नं १४ बुइपामा रु पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् ।

बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन् ।

अहिले हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभयो । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुनेगरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ । जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिकलगायत व्यवस्थापन गरेर अहिलेसम्म रु २० लाख खर्च भइसकेको छ ।

नर्सरीमा उमारिएका कफीका बेर्ना १५ देखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किसानका २५ जनाको समूह बनाएर कफीको बिरुवा वितरण गर्ने योजना छ । नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रूपमा चाहिने किसानलाई पनि उपलब्ध गराइन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष नगरपालिकाले ४२ हजार चार सय २० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियो । त्यसमा रु नौ लाख १२ हजार ३० लागेको थियो । त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ ।

कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट रु १५ लाख बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ ।

आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ । खरिद गरिएको बिरुवाभन्दा आफँैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ ।

कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको उपप्रमुख विशन राईले बताउनुभयो । “दिक्तेलमा उत्पादन भएको कफी स्थानीय बजारसँगै देशका विभिन्न सहरमा बिक्री गर्ने योजना छ । नेपालमा खपत नभएको कफी बेलायत पठाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्दा त नेपालमै खपत भइहाल्छ । कतिपय कफी प्रशोधन नगरी सिधैँ बेलायत पठाउनेछौँ । त्यसका लागि टेराम्रिदा कम्पनीसँग सम्झौता भइसकेको छ ।

समुद्री सतहबाट आठ सयदेखि एक हजार छ सय मिटरको उचाइमा कफीखेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा चिउरीडाँडा र निर्मलीडाँडामा कफीखेतीको राम्रो सम्भावना देखिएको छ । कफीको व्यावसायिक खेती प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष कफी प्रशोधन केन्द्रसमेत स्थापना गर्नेगरी अध्ययन भइरहेको उपप्रमुख राईले जानकारी दिनुभयो । “कफीखेतीको माध्यमबाट नागरिकलाई रोजगार बनाउने योजना छ । उत्पादन भएको कफी प्रशोधन गर्न प्रशोधन केन्द्र बनाउँछौँ”, उहाँले भन्नुभयो, “प्रशोधन गर्न नसकिएको कफी सिधँै बेलायत पुग्छ, बजारको कुनै चिन्ता हुँदैन ।

नगरपालिकाले गरेको अध्ययनअनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउने सकिने क्षेत्र छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्षअघिदेखि कफीखेती हुँदै आएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading