आइतबार, पुष २८, २०८१

सेयर बजार २५.४१ अंक घटे, ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार


२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन हो । त्यसको अघिल्लो दिन आइतबार बजार परिसूचक नेप्सेमा २५.४१ अंक (०.९६ प्रतिशत) को गिरावट भएको छ । आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ ।

बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ । जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ । आइतबार नेप्सेमा ४६ हजार ६ सय १४ कारोबारमा ८० लाख २१ हजार ६ सय ६१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ ।

गत बिहीबार ६ दिनपछि घटेको नेप्से आइतबार लगातार दोस्रो दिन पनि घटेको हो । आइतबार वित्त कम्पनी उपसूचकमा सर्वाधिक गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ३.६० प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.६० प्रतिशतले गिरावट भएको छ । त्यस्तै हाइड्रोपावर उपसूचक १.४४ प्रतिशत र उत्पादनमूलक उपसूचक १.३६ प्रतिशतले गिरावट भएको छ । आइतबार सबै उपसूचकमा गिरावट भएको हो ।

बजार परिसूचकसँगै कारोबार रकम घटेकोमा आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक २० करोड ४२ लाखको किनबेच भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १८ करोड ८० लाख र सिंगटी हाइड्रो इनर्जीको सेयर १६ करोड ५० लाखको किनबेच भएको छ ।

आइतबार नेप्सेमा कुल २ सय ४३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय ९४ सूचीकृत कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ४.८७ प्रतिशतले बढेको छ ।

यता, ङ्याग्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा सानिमा ग्रोथ फन्ड इकाइ मूल्य ७.५५ प्रतिशतले गिरावट भएको छ । यस्तै सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ७.१० प्रतिशतले गिरावट भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading