बिहिबार, पुष २५, २०८१

ढुक्क भएर लगानी गर्न उद्योग मन्त्री भण्डारीको आग्रह


चितवन, २५ पुसः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

आजदेखि यहाँ सुरु भएको १५औँ चितवन महोत्सवको उद्घाटन गर्दै उहाँले कानुनमा रहेका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण बनाउन लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार लगानी भित्र्याउन आवश्यक वातावरण बनाउन तयार छ । ढुक्क भएर लगानी गर्दा हुन्छ ।” विगतमा लगानी सम्मेलन भए पनि अपेक्षाकृत लगानी भित्र्याउन नसकिएको बताउँदै उहाँले आगामी लगानी सम्मेलनबाट उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । नीतिगत समस्या समाधान गरी अघि बढ्न सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।

उहाँले विभिन्न समयमा हुने यस्ता मेला महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्योगीको हकहितका लागि काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगीको समस्या समाधान गर्न प्रदेश सरकारले सहुलियतमा ऋण प्रदान गर्न बजेटबाटसमेत सम्बोधन गरेको छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर गरिएका हरेक कार्यक्रम प्रभावकारी हुने गरेको उल्लेख गर्दै यस्ता मेला महोत्सवले जिल्लाको मात्रै नभएर समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।

महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

महोत्सवमा चार सय ३० वटा प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवमा चीनको छुट्टै प्रदर्शनी कक्ष रहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading