काठमाडौँ, १७ पुस : दयाहाङ राई अभिनित सोसल ड्रामा फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत बताउँछ ।
फिल्मको मुख्य पात्र कार्साङसँग समाज र परिवारलाई लिएर धेरै गुनासा छन् । कार्साङप्रति परिवार र समाजको पनि आफ्नै खाले असन्तुष्टि छन् । मुख्यतः सांस्कृतिक र आर्थिक समस्यासँगको द्वन्द्वलाई लिएर कथा भनिएको छ । निर्देशक याम शेर्पाले ट्रेलरमा चरित्रहरूको बहुआयामिक द्वन्द्व र जटिलतालाई पेश गरेका छन् । एकातिर सांस्कृतिक पक्ष र पानीको वितरणजस्ता प्राकृतिक स्रोतको लडाइँ देखिन्छ, अर्कोतिर परिवार र गाउँलेसँग मुख्य पात्रको मनमुटाव देखाइएको छ ।
फिल्ममा बुद्धि तामाङ, जितु नेपाल, दीया मास्के लगायतका सहायक कलाकारले पनि पात्रमा प्राण भर्ने काम गरेका छन् । फिल्ममा दयाहाङले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन् । दयाहाङले यसअघि राई, लिम्बू, मगर, गुरुङ र थकाली समुदायका चरित्र निर्वाह गरेका छन् । फिल्ममा सिर्जना निङलेखुसँगै सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मलाई छायांकार समेत रहेका पुरुषोत्तम प्रधानले निर्माण गरेका हुन् । आङछिरिङ शेर्पा कार्यकारी निर्माता हुन् । फिल्म २६ पुसमा रिलिज हुँदैछ ।