शनिबार, पुष १३, २०८१

सर्लाहीको बागमती नगरपालिकाको बगरमा तरुल उत्पादन गर्दै किसानहरु


बरहथवा (सर्लाही), १२ पुस : यहाँको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उहाँले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाउनुभएको छ ।

चाडबाडको मुखमा मूल्यसमेत राम्रो पाइने भएकाले पुसको तेस्रो सातासम्म तरूल बेचिसक्ने उहाँको योजना छ । “तरूलको मूल्य माघेसङ्क्रान्तिमा राम्रो पाइन्छ”, उहाँले भन्नुभयो, ‘‘त्यसकारण पुस २५/२६ सम्म बेचिसक्ने योजना छ ।” तरूल स्वस्थ्यका दृष्टिले चिसो मौसममा उपयोगी मानिने भएकाले यसबेला मूल्य बढ्ने गरेको छ ।

दलबहादुरझैँ यहाँका किसानहरुलाई माघेसङ्क्रान्ति नजिकिएसँगै तरूल खन्न भ्याइनभ्याइ छ । बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरूल खेती गर्ने गरेका छन् । बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरूल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हिरालाल मण्डलको भनाइ छ । “बगरको खेती सुन जस्तै बनेको छ”, उहाँले भन्नुभयो,  “तरूल उत्पादनबाट मनग्य आम्दनी हुन्छ ।

तरूलखेती गर्नु भएका बागमती नगरपालिका–४ जिराएतका किसान विमल खड्काले तरूलको उत्पादन राम्रो हुँदा अन्य बालीभन्दा धेरै आम्दानी हुने गरेको बताउनुभयो । खड्काले पनि एक बिघामा तरूल लगाउनुभएको छ ।

यहाँका किसानले आकाशे र पत्ताले गरी दुई जातको तरूल उत्पादन गर्ने गरेका छन् । आकाशे अर्थात् सेतो तरूल कम स्वादिलो हुने धेरै उत्पादन हुने तथा मूल्य केही कम हुने गरेको बागमती–४, जिरायतका तरूल व्यापारी राम दरेस महतोले बताउनुभयो । अर्को पत्ताले अर्थात् रातो जातको तरूल भने, उत्पादन कम हुने, खान स्वादिलो हुने भएकाले मूल्यसमेत महङ्गो उहाँको भनाइ छ ।

यहाँका किसानले प्रतिबिघा ८० देखि एक सय २० क्विन्टलसम्म तरूल फलाउने गरेका छन् । यस वर्ष छठको समयमा तरूल प्रतिकिलो एक सय २० रूपैयाँसम्ममा बिक्री भएको थियो । हाल बजार मूल्य प्रति किलो ५५ देखि ६० रूपैयाँ रहेको तरूल व्यापारी डम्बरबहादुर खड्काले बताउनुभयो । यस वर्ष व्यापारी खड्का २० बिघाको तरूल बजार लैजाने तयारीमा हुनुहुन्छ ।

उहाँले आफ्नो र भाडामा गरी २० बिघा बढी खेतमा तरूल लगाउनुभएको छ । जग्गा भाडामा लिँदा वर्षको प्रतिबिघा ५० देखि ६० हजार रूपैयाँसम्म तिर्नुपर्ने उहाँले बताउनुभयो । तरूलखेती गर्दा प्रतिकट्ठा बीउ, मल खाद, कामदार गरी रू आठ हजारसम्म खर्च हुने उहाँको भनाइ छ । तरूलखेतीबाट किसानले प्रतिकट्ठा रू ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

बागमती नगरपालिका कृषि शाखाका अनुसार यस क्षेत्रमा बर्सेनि तीन सय बिघा क्षेत्रफलमा तरूलखेती हुँदै आएको छ । सिँचाइ हुने खेतमा पानी जम्ने जोखिम रहेकाले तरूल उत्पादनका लागि बगर खेत उपयुक्त हुने कृषि प्राविधिक बताउँछन् । त्यसकारण बागमती नदी उकास जग्गा तरूल उत्पादनका लागि निकै उपयोगी बनेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading