सोमबार, पुष ०८, २०८१

चीनले विस्तार गर्दैछ आफ्नो अन्तरिक्ष स्टेशन


अन्तरिक्षमा अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्व तथा विभिन्न देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशन मा होइन चीनको आफ्नै तियाङगोंग स्पेस स्टेशन पनि छ ।

अन्तर्राष्ट्रिय स्पेश स्टेशनको आयु समाप्त हुने समय नजिकिंदै गर्दा चीनले भने आफ्नो अन्तरीक्ष स्टेशन विस्तार गर्ने योजना अघि सारेको छ ।
चीनले घोषणा गरेको नयाँ योजना अनुसार आगामी वर्षहरुमा तियाङगोंग स्पेस स्टेशनमा रहेको मोड्युलको संख्या तीनबाट बढाएर ६ पुर्‍याइने छ।

पृथ्वीबाट नजिक रहेर विभिन्न अन्तरिक्ष मिसनका लागि तियाङगोंगमा एक वैकल्पिक मञ्च प्रदान गर्ने योजना चीनको छ, खासगरी सन् २०३० को आसपासमा अन्तर्राष्ट्रिय स्पेस स्टेशन रिटायर्ड भएसँगै अन्य मुलुकका अन्तरिक्ष यात्रीका लागि ।
अजरबैजानको बाकुमा आयोजित ७४औं अन्तरीक्षयात्री कंग्रेसका क्रममा चीनको स्पेस एजेन्सीको महत्वपूर्ण साझेदारको रुपमा रहेको चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजीले अन्तरिक्ष स्टेशनको जीवनकाल १० बाट बढाएर १५ वर्ष बनाउने योजना भैरहेको बताएको थियो ।

कस्तो छ स्पेस स्टेशन ?

चिनियाँ अन्तरिक्ष स्टेशनको नाम तियाङगोंग हो । चिनियाँ भाषामा यसको अर्थ आकाशको दरबार भन्ने हुन्छ । यो स्पेस स्टेशनले अन्तरिक्षमा चीनको पछिल्लो सफलतालाई देखाउँछ । यो स्पेस स्टेशनको तौल ९६००० केजी रहेको छ ।

यसको लम्बाई ५५.६ मिटर र चौडाई ३९ मिटर रहेको छ । भविष्यमा यसलाई विस्तार गरी तीनवटा थप मोड्युल जोड्ने योजना चीनको छ । चौथो मोड्युल पनि यसमा जोडिनेछ जसलाई अस्थायी रुपमा जिन्टियन नाम दिइएको छ । आगामी वर्ष सन् २०२४ मा यसलाई प्रक्षेपण गरिनेछ ।

तियाङगोंग स्पेस स्टेशनले ३४० देखि ४५० किलोमिटरको उचाइँबाट पृथ्वीको परिक्रमा गर्दछ । यसको परिक्रमण मार्ग अन्तर्राष्ट्रिय स्पेस स्टेशनकै मार्गमा भए पनि यसको आकार निकै छोटो र वजन निकै कम छ । आइएसएसमा १६ वटा मोड्युल छन् ।

अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस) के हो ?

इन्टरनेसनल स्पेस स्टेशन विश्वभरका प्रमुख अन्तरिक्ष एजेन्सीहरुले मिलेर निर्माण गरेको स्टेशन हो । यसमा अमेरिका, रुस, युरोप, जापान तथा क्यानडा सामेल छन् । यसमा अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्री जान्छन् ।

यो स्टेशन तालीम तथा अनुसन्धान केन्द्रको रुपमा प्रयोग हुँदै आएको छ । यो बहुराष्ट्रिय अन्तरिक्ष स्टेशनमा चीनको भने सहभागिता छैन ।

यो स्टेशन पछिल्लो २ दशकदेखि चलिरहेको छ यसमा अहिलेसम्म २ सय भन्दा धेरै अन्तरिक्षयात्री गइसकेका छन् । सन् २०३० मा यो स्पेस स्टेशनलाई रिटायर्ड गर्ने योजना नासाको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading