सोमबार, पुष ०८, २०८१

व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी


बरहथवा (सर्लाही), ३ पुसः सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाही सहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ ।

यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुनुहुन्छ, हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी । उहाँका अनुसार टमाटर खेतीबाट बर्सेनि रु पाँच लाखसम्म आम्दानी भइरहेको छ ।

कक्षा ८ सम्म औपचारिक शिक्षा लिनुभएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताउनुभयो । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उहाँले भन्नुभयो, “धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।

मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहनुभएको छ । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उहाँले बताउनुभयो । कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ । “पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिए”, उहाँले भन्नुभयो, “उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले दुई बिघा लगाएको छु । छ महिनामा रु पाँच लाखको टमाटर आरामले बेच्छु ।

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उहाँ बताउनुहुन्छ । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उहाँको अनुभव छ । “किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो”, मिकरानीले भन्नुभयो, “मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।

उहाँले प्रति क्यारेट रु तीन सयदेखि रु एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आउनुभएको छ । टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उहाँको भनाइ छ ।

पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ”, मिकरानीले भन्नुभयो, “कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।” टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उहाँले सुनाउनुभयो ।

किसान लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताउनुभयो । अहिले किसाने टमाटर रु एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उहाँको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उहाँले दाबी गर्नुभयो ।

तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आउनुभएका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर रु चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाउनुभयो ।

सुरक्षित भण्डारणको समस्या

उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उहाँहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आउनुभएकी रिता मगरले गुनासो गर्नुभयो ।

आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ”, उहाँले भन्नुभयो । सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading