सोमबार, पुष ०८, २०८१

जोमसोमको सहायक गन्तव्य क्षमाताल


म्याग्दी, १४ मङ्सिर : चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।

निलगिरि हिमालको उत्तरपश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारको छ । ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ । करिब तीन सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइमा फैलिएको नीलो रङको तालमा निलगिरि हिमालको छायाँ देखिने घरपझोङ गाउँपालिका–५ ठिनीका पूूर्णलाल थकालीले बताउनुभयो ।

जानअन्जानमा गरेका गल्तीलाई सम्झिएर क्षमा माग्ने र कमजोरी नदोहोर्‍याउने प्रतिबद्धतासहित स्थानीयले पूजाआजा गर्ने भएकाले क्षमा नामकरण गरिएको यो ताल वरपर लसुन र प्याज प्रयोग गरिँदैन”, थकालीले भन्नुभयो, “पहिले स्थानीय युवायुवती बर्खामा वनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटक पनि आउन थालेका छन् ।

ताल परिसरमा बसेर घण्टौँसम्म टहलिन, निलगिरि हिमाल र हिमालबाट खस्ने हिउँपहिरो अवलोकन गर्न यहाँ सौखिन किसिमका पर्यटक आउने गरेका जोमसोमको सिन्तामणि होटलका कर्मचारी अनिष गौचनले बताउनुभयो । दुई जना रसिया र एक जना नेपाली पर्यटक घुमाउन क्षमताल पुगेका गौचनले यो ठाउँलाई पर्यटकले रूचाएका बताउनुभयो । “मुस्ताङको पाँच दिनको हाम्रो होटलको प्याकेजमा क्षमाताललाई पनि समावेश गरेका छौँ”, उहाँले भन्नुभयो, “हिमाल हेर्दै हाइकिङ गरेर क्षमाताल घुम्न आउने पर्यटकबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।

मुस्ताङ घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन क्षमाताललाई जोमसोमको सहायक गन्तव्यका रूपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताउनुभयो । क्षमातालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

क्षमातालको नजिकै रहेको कैशाङमा नेपाली सेनाको उच्च स्थानको तालिम केन्द्र छ । तिब्बतबाट भागेर आएका खम्पा विद्रोहीहरूलाई भगाएर नेपाली सेनाले क्याम्प बनाएर बसेको हुँदा कैशाङ सामारिक महत्वको सुरक्षाका हिसाबले संवेदनशील ठाउँ पनि हो । कैशाङ क्याम्पसम्म सडक पुगे पनि सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वैकल्पिक पदमार्ग बनाइएको छ ।

ठिनीखोलाको बगरैबगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ । ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकले बताएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading