04/05/2025, 19:41:02

विकृति विसङ्गती नियन्त्रण गर्न सरकार दृढ सङ्कल्पित छ : सञ्चारमन्त्री गुरुङ


२६ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ सङ्कल्पित रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “हाम्रो समाज र राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सद्भावलाई भत्काउने, सामाजिक, सांस्कृतिक सहअस्तित्वलाई नकारात्मक असर तुल्याउने क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन ।

कोशी प्रदेशका कानूनमन्त्रीमाथि अघि बढाइएको कारबाही एउटा सङ्केत भएको बताउँदै मन्त्री गुरुङले अगाडि भन्नुभयो, “गलत क्रियाकलापमा संलग्न हुने जो कोही भए पनि छुट पाउँदैन । गल्ती गर्नेले सजाय पाउनैपर्छ । यस्ता गलत क्रियाकलाप विस्तारै अन्त्य हुन्छ ।

सञ्चारमन्त्री गुरुङका अनुसार लामो समयदेखि विवादमा रहेको डेडिकेटेट, फिडर र ट्रङकलाइनसम्बन्धी महशुल र विद्युत् आपूर्ति सञ्चालन गर्नेसम्बन्धी विवादका सम्बन्धमा गठित कार्यदलले दिएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “लामो समयदेखि विवादमा रहेको मुलुकको औद्योगिक क्षेत्रलाई असर पार्ने ढङ्गले विद्युत् आपूर्ति बन्द हुँदा औद्योगिक उत्पादन, रोजगारी, राजस्व र अर्थतन्त्रमा नकारात्मक असर परेकाले समस्या समाधान गर्न सरकारले विद्युत आपूर्ति गर्ने र प्रयोग भएको विद्युत्को महशुल १५ दिनभित्र बुझाउनैपर्ने निर्णय गरेको छ ।

उहाँले मन्त्रालयले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने तथा कर्मचारीले सरकारका निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै यदि त्यसको अवज्ञा गरिए क्ष्यम्य नहुने स्पष्ट पार्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..